धेरै दिन भइसकेछ व्लग नलेखेको पनि । के गर्नु काम नै यति धेरै थियो कि लेख्न मन हुँदाहुँदै पनि केहि लेख्नै भ्याइएन । यो विचमा नेपाललगायत संसारभरि नै तहलका मच्चिने गरिका घटनाहरु भए । वेनजिर भुट्टोको हत्याले विश्व नै हल्लाउन मात्र पुगेन, त्यहि कारणले पाकिस्तानमा अहिलेसम्म ३३ जना भन्दा बढिको ज्यान गइसकेको छ । पाकिस्तान जस्तो कट्टर मुस्लिम राष्ट्रमा दुई दुई पटकसम्म प्रधानमन्त्री निर्वाचित भएर होस् या निरन्तरको धम्कीका बावजुद पनि चुनावी सभा र र्यालीमा सहभागी भएर एउटी साहसी महिलाको परिचय दिएकी भुट्टोको प्रशंसा जति गरे पनि थोरै नै हुन्छ ।
यता आफ्नै देशमा पनि वरिष्ठ साहित्यकार धुस्वाँ सायमीको निधन भएको छ । नेपाल (नेवारी)), नेपाली, अंग्रेजी र हिन्दी भाषामा उहाँ कलम चलाउनु हुन्थ्यो ।
त्यस्तै सुर्खेतको शुभाघाटमा भेरीनदीको झोलुङ्गे पुलको लठ्ठा चुँडिएर (हो कि नट राम्रो नकसिएकोले हो ?) ३ दर्जन भन्दा बढि मानिसको मृत्यु हुन पुग्यो । यो एउटा भवितव्य मात्र नभएर हाम्रो देशका जिम्वेवार व्यक्तिहरुको लापरवाहीको पराकाष्टा नै हो । पुल जस्तो सम्वेदनशील कुरामा गरिएको यस्तो लापरवाहीले यति धेरै जनाको ज्यान गएको छ, यो कुरालाई सरकारले गम्भीरतापूर्वक लिएर हेलचेक्र्याईं गर्ने प्राविधिकहरुलाई कडाभन्दा कडा कारवाही गर्नै पर्छ ।
अनि भर्खरै संसदले अन्तरिक संविधान संशोधन गरेर देखावटी रुपमा मात्र भए पनि नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको छ । संविधानसभाको पहिलो बैठकको साधारण वहुमतले राजतन्त्र फाल्ने रे । यस्तै चाला हो भने त संविधानसभाको चुनाव नै होला जस्तो छैन । भइ नै हाल्यो भने पनि गणतन्त्रवादीहरुको वहुमत आएन भने त राजतन्त्र त नजाने भयो नि । हुन त राजावादीहरुले चुनाव जित्छन् भन्ने कल्पना त गर्न सकिन्न तै पनि सम्भावना त छ नि । कि त सवै निर्वाचन क्षेत्रमा गणतन्त्रवादीहरु मिलेर चुनावमा उठ्नु पर्यो अर्थात साझा उम्मेद्वार उठाउनु पर्यो कि त सवैमा नभए पनि कमसे कम आधाभन्दा बढीमा त गर्नै पर्यो । नत्र र त यो त नाटक जस्तो मात्र हुनेछ ।
No comments:
Post a Comment