Google

Friday, April 25, 2008

खुल्न बाँकी जीवनका ढोकाहरू

नक् नक् नकिङ अफ हेभन्स् डोरउनले यो बेलायती पपुलर गीत गुन्गुनाइन् । यसो गर्दा आँखाहरू केही ठूला भए र झिमझिम भए । एउटा मिठो मुस्कान हिउँदको पहेंलो पातजस्तै भुइँमा खस्दै गयो ।जीवनमा एउटा मान्छेले कतिपल्ट रहस्यका ढोकाहरू खोल्छ ? जीवनमा मान्छेले कतिपल्ट सही ढोका ढक्ढकाउँछ ? कतिपल्ट गलत ढोकामा ताला लगाउँछ ? संसारमा कतिवटा ढोकाहरू छन्, ती गनिसाध्य छैनन् । 'सम्हाल्न गाह्रो कुन ढोका हुन्छ, मनको या घरको ?' उनले मुस्कुराउँदै भनिन्, 'मनको ।' उनलाई लाग्छ, 'जे छ मनभित्रै छ । त्यो लुटे त सबै सिद्धियो ।' उनले क्रिस्चियन, हिन्दू, मुसलमान, बुद्धिस्ट र जैनसँग सोधिछन्, 'जीवन पार गर्न कतिवटा ढोका पार गर्नुपर्छ ?' सबैको साझा जवाफ थियो, 'यो ब्रमाण्डबाट बाहिर बाहिरिए पनि, जीवनको अन्तिम ढोका लगाए पनि, मृत्युपर्यन्तका अरू ढोकाहरू खोल्न बाँकी नै छन् ।' उनी निर्धक्क भन्छिन्, 'डेथ अफ द बिगिनिङ अफ द ओपनिङ अफ मेनी न्यु डोरस् ।' यसरी जीवनपर्यन्तका अरू ढोकाहरूको खोजीमा निस्किएर 'खुल्ला ढोका' कार्यक्रमका लागि ढोका खोज्न कहाँ-कहाँ पुगेकी उनी हुन्- संगीता थापा ? छयालीसवटा ती भाँच्चिएका, पुराना र जीर्ण ढोकाहरू कवाडीबाट किनिएका थिए । कत्ति भने आएका थिए गिफ्टमा । हुरीका पछि दगुर्दादगुर्दै 'खुल्ला ढोका' कार्यक्रम भयो । आर्टिस्टहरूले आफ्ना कला र रङले ती रङहीन ढोकालाई 'रङ' दिए । कार्यक्रम सकिएपछि, कुनै मान्छे ती ढोका किन्न आयो । आर्टलाई ऊ सोच्दो रहेछ यी त दाउरा हुन् । दुःखभन्दा पनि ढोकाको अर्थ नबुझिदिएले उनलाई धेरै बेरसम्म रन्थनाइदियो ।
बमको मात्र नाता रहेका इजरायली र प्यालेस्टाइनीहरू मिलून् भनेर, इजरायली र प्यालेस्टाइनी बालकले साथ-साथै ढोकाहरूमा पेन्टिङ गरेका थिए । 'हामीले पनि त्यही आइडियाले नेपालमा गर्‍यौं,' संगीता भन्छिन्, 'द्वन्द्वबाट नेपालले मुक्ति पाओस् । बन्द सबै ढोकाहरू खुलून् भनेर हामीले ती ढोका बनाएका थियौं ।'उनलाई म्युजिक खुबै मनपर्छ । 'लार्जर देन लाइफ' स्टाइलमा मुस्कुराउँदै नाम र आफ्नो सामीप्य दर्शाइन्, 'बुबाले छानेरै नामै राखिदिनु भयो नि संगीता ।''एकान्तको अजिङ्गरले निलीनिली बस्छ,' सायद बैरागी काइँलाले यो कविता उनकै लागि लेखिदिएका हुन् ।कतै आर्ट एक्जिभिसनमा त कतै ज्याज म्युजिक कन्सर्टमा मुसुमुसु हाँस्दै, अघिल्लो कुर्सीको 'रो' बाट मुन्टो बटार्दै पछाडि फर्किएर तपाईंलाई 'हेल्लो' भनिदिने उनी कहिलेकाहीँ आफ्नै मनको सुरुङमा हराइदिन्छिन् । मालीगाउँ । अब कुनै फूल बाँकी छैनन्, मालीगाउँमा । हामी अहिले उनको 'डाइनिङटेबुल'को दुवै छेउमा बसेका छौं । उनको पि्रय कुकुर 'बुट्टे' उनकै छेउछाउमा रिंगिरहेको छ । बुट्टेका लामा-लामा कान सुम्सुम्याउँदै भनिन्, 'बुट्टे, नरिसा इन्टरभ्यु दिएको हो के !' टेबुलमा छड्के पल्टिएको बाँसुरी बजाइरहेकी महिलाको मूर्ति लमतन्न परेको छ । जमाल अलअफ गानीले बनाएको यो मूर्ति हेरिरहँदा, कुनै श्रापित युवती यही मूर्तिबाट बाहिर निस्कन्छे कि जस्तो मलाई लागिरहेको छ ।'सिद्धार्थ आर्ट ग्यालरी' खोलेको बाइस वर्ष भइसकेछ । बिहे चौबीस वर्षको उमेरमा भयो । बाईस वर्षअगाडि उनको जीवनमा यस्तो 'इभेन्ट' पनि आयो, जसले उनको जीवनको सारा 'कायापलट' गरिदियो ।
४७ वर्षअघि उनी थापाथलीमा जन्मिएकी थिइन् । कहिले कता कहिले कता पुगिरहने फिरन्तेजस्ता बुबा हिमालयशमशेर राणाका पछि-पछि लागेर उनकी आमा हिँड्थिन् । आमाको पछि, संगीता । उनी बचेरा थिइन् । गुँडका खोजीमा संसारका मान्छेहरूको जंगल चहारिरहेका पक्षीजस्ता थिए, उनका बुबा-आमा । उनको जीवन गणितै गणितले भरिएको छ । अंकहरूले भरिएको छ । र, कहिल्यै जीवनमा आँखा र सपना समानान्तर भएर हिँडेनन् । कहिले आँखा छन्, सपना छैनन् ।पाँच वर्ष श्रीलंका, पाँच वर्ष बर्मा, दुई वर्ष सिंगापुर, ६ महिना पाकिस्तान । यसरी अझै अन्तै पनि छरिएका छन्, जीवनले जुटाइदिएका अंकहरू । १६ वर्षको उमेरमा विवाह गरेकै कारण उनकी आमालाई लाग्थ्यो- छोरी ठूली भई । आफ्नै मौलिक सपनाको संसारमा हराइरहेकी संगीता जब घर फर्किन्थिन्, विवाहका लागि कसै न कसैको फोटो तयार भएर मुस्कुराइरहेको हुन्थ्यो । अनि, झगडा । उनका 'रोल मोडल' आफ्नै बुबा थिए । र, बुबा हिमालयशमशेर थिए- युएनमा । उनलाई लाग्थ्यो, म पनि एक दिन युएनमा हुनेछु । अगाडि फर्फराइरहेको हुनेछ- अन्तर्राष्ट्रिय झन्डा ।
फिजारिएका सुनकलरका कपाल झट्कार्दै उनले सुनाइन्, 'विवाहपछि ती कुनै सपना बाँकी रहँदैन कि जस्तो लाग्थ्यो ।' कुनै बेला उनलाई बुबाले भन्थे, 'धनीलाई पढाइ भनेको शिरको ताज हो, गरिबलाई पढाइ भनेको ठूलो रुखको ओत ।''सफल तिम्रो त्यो जिन्दगीलाई यो दुःखीको बधाइ छ' गीत लेख्ने सुनील थापाको फोटो पनि कता-कताबाट घुम्दै उनको अगाडि मुस्कुराउन आइपुग्यो । उनले फोटो हेरिनन् । भेट भयो, मानिनन् किनभने उनको अगाडि उनको सपनाले पर्खिरहेको थियो । सायद, पर्खिरहेका सपना कुर्दाकुर्दै पीपल बन्छन् । उनी आफ्ना सपनालाई पीपल बनाउन चाहन्नथिन् ।
उनी आफ्ना सपना बोकेर युएसए फर्किन् । तर, सुनील थापाका नामका चिठीहरूले उनलाई पछ्याइरहे । ती पुराना दिनहरू उनको अनुहारभरि छरिन थाले । तर, उनको एक मुस्कानमा तिनले अनुहारबाट फाल हालिदिए । उनले मुस्कुराउँदै भनिन्, 'मैले ती चिठी कहिल्यै पढिनँ ।' यो गर्मीको महिना धुलो र धुवाँलाई छिचोल्दै म उनीकहाँ केही सोध्नै त पुगेको थिएँ । सोधें, 'के चिठीहरू च्यात्नु पनि भयो ?'उनले मुस्कुराउँदै 'नाई' भन्दै टाउको बटारिन् । मैले हाँस्दै भनें, 'मैले त लेखेजति चिठी च्यातिएका छन् ।'
सुनीलको फोन आउँछ भनेर उनले युएसएको 'फोन डायक्टरी'बाट आफ्नो नाम हटाउन लगाइन् । त्यो बेला डायक्टरीबाट नाम हटाएको पन्ध्र डलर लाग्थ्यो । अचानक सुनील युएसए पुगेछन् । र, संगीतालाई खोज्दै पुगेछन्- उनकै कलेज । कसैले भनेन संगीता कहाँ छिन् ?रन्थनिएर हिँडिरहेका सुनीलले कलेजको क्यान्टिनमा संगीताका दाइलाई भेटेछन् । अचानक एउटा नयाँ मोडले उनको फल्याटको ढोका ढक्ढक्यायो । ढोका खोल्दा त दाइ र सुनील अगाडि उभिएका थिए । अघिपछि, एलियनजस्ता लाग्ने सुनील भने यो भेटमा उनलाई लाग्यो घरकै सदस्यजस्तो । विवाहपछि जीवनका अध्याँरा तहखानामा कैद नयाँ-नयाँ ढोकाहरू खुल्दै जान्छन् । बीए पढ्दापढ्दै विवाह भयो । त्यो बेला काठमान्डू असाध्यै सुन्दर थियो । थापाथलीबाट हेर्दा टाढा-टाढासम्म खेतहरू देखिन्थे । रोपाइँका गीतहरू मनलाई छोएर जान्थे । त्यही कुराले उनलाई काठमान्डूमा रोकेर राखे । उनको पीर यस्तो छ, 'जे चिजले तानिएर म यहाँ बसें । अहिले तिनीहरू केही पनि छैनन् ।'अहिले त मन ठाउँमा छँदैछैन । उनी भनिदिन्छिन्, 'लुडोजस्तो हुन्छ मन । कहिले भञ्याङ चढेर माथि पुग्छ । कहिले सर्पले निलेर भुइँमा पछारिदिन्छ ।'
***जिया अलहकको जमानामा उनका बुबा-मुमा पाकिस्तानमा थिए । एक दिन खबर आयो, 'हामी एक्लै छौं ।' संगीता फेरि त्यहाँ पुगिन् ।आर्ट स्कुलमा क्यानभासअगाडि एक्लै टोलाउँदा-टोलाउँदै उनी त्यहाँ पुगिन् । त्यो महिला स्कुल थियो । शिक्षक-विद्यार्थी सबै महिला थिए । कहिलेकाहीँ स्कुलमा पढाउन अतिथि पुरुष शिक्षक आउँदा बुर्काले मुख छोप्नुपथ्र्यो ।
कतिसम्म हुन्थ्यो भने प्रिन्सिपल पनि महिला नै थिइन् । यस कारण बुबालाई पनि छोरी भेट्न गाह्रो हुन्थ्यो । ६ महिनामा उनलाई ६ युगको तपस्या गरेजस्तो भयो । कयौं वर्षअगाडिको कुरा सुनाउँदा पनि त्यसको अत्यास अझै उनको अनुहारमा उदायो । मसिनो आवाजमा सुनाइन्, 'मैले निर्णय गरेकी थिएँ, अब म त्यहाँ बस्दिनँ ।'अमेरिकामा दाइ र भाइ पढिरहेका थिए । त्यै भरमा उनी अमेरिका पुगिन् । आमाको चैन त्यसपछि बाँकिरहेन । उनलाई डर लाग्थ्यो, 'कतै छोरी अंग्रेजसित त विवाह गर्दिनँ ।' संसारभरिका आमाहरू आफ्नै सन्तानप्रतिको निर्दोष स्वार्थले चैन गुमाइरहेका हुन्छन् । त्यहाँ, उनले मास कम्युनिकेसन र एन्थ्रोपोलोजी पढिन् । तर, पेन्टिङ भने सधै आँखावरिपरि झुन्डिरहेकै हुन्थ्यो ।हाँस्दै सुनाइन्, 'बुबालाई आर्ट मनपर्छ ।' थपिन्, 'तर, स्केच कोर्ने 'इलम' भने आमालाई बढी छ ।' आमा जहिले पनि छोरीलाई किचेनमा पुर्‍याउन चाहन्थिन् । बुबाले कलेज । एकछिन् उनी किचेनमा केही कुरा लिन गइन् । आएर भनिन्, 'मलाई मिठो पकाउन आउँछ ।' मैले सोधे, सबैभन्दा मिठो के पकाउनुहुन्छ ?एकछिन् सोचिन् । झट्टै केही उत्तर आएनछ । सोचेर भनिन्, 'खै के भन्ने ?' तर, उत्तर यस्तो आयो, 'नयाँ-नयाँ डिस', अब कुरा बीचमा अल्मलिन थाल्यो, 'फुड पनि यौटा आर्ट हो । पकाउँदै गए, सिक्दै गइन्छ ।'
एकान्तको मजा र त्रास कस्तो हुन्छ, उनलाई थाहा थिएन । उनी त एउटा पक्षी थिइन् । उनको बाल्यकाल भीडमा बित्यो । अटेसमटेसमा बित्यो । दिनभरि थाकेर सुत्दा पनि साथमा महिला हुन्थे । र, साथमै हुन्थे नुहाउँदा पनि । बगैंचामा घुम्दा पनि ।उनी आर्ट स्कुलमा पढ्दा भने एकान्तले उनको ठेगाना पाइसकेको थियो । उनी एक्लै हुन्थिन् । र, साथमा हुन्थ्यो एक्लो क्यानभास । उनैलाई हेरेर टोलाइरहेको ।अब सुनीलको पोस्टिङ पनि कहिले कता कहिले कता हुन थाल्यो । कपनमा बस्ने कुनै मित्र भन्थे, 'म जाफ्ना प्रायद्वीपमा बस्छु ।' कुनै जमानामा सुनील ओरजिनल जाफ्ना प्रायद्वीपमै बस्थे । संगीता भने दुई बच्चासहित कोलम्बो । त्यहाँ बस्नुको एउटै मात्र फाइदा रह्यो, 'मैले त्यहीँदेखि खाना पकाउन थालें ।'चेन्नाई मद्रासमा हुँदा घरमा एउटा बूढो पाले थियो । श्रीलंकन तमिल शरणार्थीहरूको काममा सुनील हिँड्थे । र, संगीता घरभित्र हुन्थिन् । पालेले बाहिरबाट ताला लगाइदिन्थ्यो । ऊ यत्ति भन्थ्यो, 'मास्टर कम आई ओपन ।'
जीवन टिभीले होइन, भोगाइले देखाउँछ । उनी सुनीलसित चेन्नाई पुगिन् । त्यहाँ एउटै घरमा कयौं परिवार चेप्पिएर, निसास्एिर बसेका थिए । परिवारको साँध छुट्याउन झुन्डि्याइएका थिए, साडीका भित्ताहरू । ती सारा परिवार जाफ्नाबाट भागेर आएका थिए, इन्डिया । उनीहरूको जीवन आँसुले भरिएको थियो । उनीहरूका सबै सपनाका ढोकामा ताला झुन्डिएका थिए । उनलाई त्यसबेला लागेछ, 'उनीहरूका दुःखका अगाडि त मेरो दुःखको त कुनै नाम रहेन ।'त्यही एउटा यस्तो परिवार थियो जसले सबै छोडेको थियो- देश, नाम, निद्रा र सपना । तर, पिँजडाको सुँगा छोड्न सकेको थिएन । संगीतालाई पिँजडाका पक्षीहरू मन पर्दैर्नन् । सायद, त्यहाँ आफ्नो अवशेष पनि आउँछ कि ? भावुक हुँदै भनिन्, 'मलाई चराहरू पाल्न मन पर्दैन ।' कहिलेकाहीँ त उनी पिँजडामा बेच्न ल्याएका चराहरू किनेर उडाइदिन्छन् । यस्तो पटक-पटक गरेपछि सुनीलले भनेछन्, 'उडाएर के गछ्र्यौ । तीनलाई उड्न आउँदैन ।'पिँजडामा कुँजिएका चरा हुन् या जनता तिनलाई उड्न गाह्रो पर्छ ।
***
कहिलेकाहीँ उनको मन आफ्नै बसमा हुँदैन । मुस्कुराउँछिन्, 'म त मेरो मनको बाघसित कुस्ती खेल्छु ।''हामी देवशमशेरका परिवार हांै', उनका पछाडि धनी या एलिटको पुच्छर झुन्डिँदा उनी भन्ने गर्छिन्, 'देवशमशेर भगाइएका थिए । उनी सोच्छिन्, 'धनी त अरू राणाहरू पो हुन् त ।' उनका विचारमा बुबाको स्ट्रगलले उनीहरूको परिवार अहिले 'यहाँ' आइपुगेको छ । हिँड्दा बाटोमा कयौं डालाको सुन्तला राखेर बसेका महिला देखेर उनी आत्तिन्छन् । र, सोध्छिन्, 'यी कहिले बिकिसक्छन् ?' जीवनमा हज्जारौं महिला भेटिन् र संगत गरिन् । तर, उनको कुरा यस्तो छ, 'म नेपाली महिलालाई धेरै विश्वास गर्छु । उनीहरू खुब दुःख गर्छन् ।' सायद, नेपाली महिला दुःखलाई नपत्याएर दुःखलाई अस्वीकार गर्छन् ।
कुनै जमानामा घरमा ढोका हुँदैनथे । अहिले ढोका नभएका घर छँदै छैनन् । पुराना कुरा सम्झिन्छिन्, 'मेरो माइती घरमा पनि पहिला कसैले ढोका लगाउँदैन्थ्यो ।' समय यसरी फनफनी घुमिदिएको छ कि- 'अहिले त घरैपिच्छे ढोका छन् । र, ढोकैपिच्छे पाले छन् ।' बेलायत र अमेरिकामा भने ढोकाहरूको साइज एउटै हुन्छ । उनी भन्छिन्, 'ढोका बिल्डिङको साइजअनुसार बनाइएको हुन्छ ।' उनका अनुसार चाइनिज ढोकामा बढी 'सिसौ' प्रयोग हुन्छ । साउथ र इस्ट एसियामा पनि सिसौकै हुन्छन्- ढोकाहरू । त्रास र असुरक्षाले मुस्लिम देशहरूमा भने अझै पनि आग्लो लगाउँछन् रे ! ढोकाको खोजीमा कहाँ-कहाँ पुगेकी संगीतालाई पि्रय लागेको छ- पाल्पा तानसेनकोे ढोका । भन्छिन्, 'ढोका ठूलो छ र बाहिरपट्ट काँडाहरू छन् ।' उनलाई तिब्तीयन ढोकाहरूको बनावट र शालीनता मन पर्छ भने भव्य लाग्छ, फ्लोरेन्स इटलीको चर्चको ढोका जसको नाम दिइएको छ- 'गेट-वे टु हेभन ।' बुट्टे चुइँकिँदै फेरि छेउमा आयो । बुट्टेलाई थम्थमाउँदै थपिन्, 'हाम्रो पशुपतिको ढोका पनि सुन्दर छ ।' बुट्टे नजिकको सोफामा गयो र ढल्कियो । त्यो एकछिन्मा निदाउनेछ ।दिन घिसारिँदै गइरहेको छ । उनको मुडलाई क्याच गर्न सोधियो, 'सम्हाल्न गाह्रो कुन ढोका हुन्छ, मनको या घरको ?' उनले मुस्कुराउँदै भनिन्, 'मनको ।' उनलाई लाग्छ, 'जे छ, मनभित्रै छ । त्यो लुटे त सबै सिद्धियो ।'
बदलिँदो राजनीतिक, सामाजिक र आर्थिक परिस्थितिले ढोकाहरूको बनावट र सौन्दर्य पनि बदलिरहेको छ । देख्दा अजंगका मान्छेहरूलाई तर्साइदिनेखाले कयौं यस्ता ढोका छन्, जो संगीताका विचारमा, 'ती नक्कली ढोकाहरू हुन् ।' जटिलताले भरिएको छ मानिसको जीवन । सामान्य-ज्ञान प्रतियोगिताको शैलीमा सोधें, 'कुन ढोकाभित्र छिर्न गाह्रो हुन्छ, घरको या मनको ?' रमाइलो मानेर मुस्कुराइन् र भनिन्, 'मनको ढोकाभित्र ।' उनी ठान्छिन्, उनको मनको ढोका बलियो छ र त्यसमा आग्लो पनि लगाइएको छ । उनले सुनाइन्, 'मेरो मन मरुद्यान हो । मसित जति कन्फ्युजन छन्, तीनका उत्तर पनि यसैमा छन् ।' एक दिनमा उनी कत्तिवटा कल रिसिभ गर्दिहुन् ? उनले गनेजसरी सोचेर भनिन्, 'साठी/सत्तरी ।' यो एउटा व्यस्त जीवनको प्रमाण हो । उनी किन यत्ति व्यस्त हुन्छिन् ? भनिन्, 'मानसिक, शारीरिक, धार्मिक र सुन्दरताका लागि नयाँ 'एभिन्युज'हरू खोजिरहनुपर्छ ।'उनी चाहन्छिन् नयाँ-नयाँ च्यालेन्ज । नत्र यस्तो हुन्छ रे, 'म दिमागलाई च्यालेन्ज गर्छु । मैले त्यो गरिनँ भने म मरेजत्तिकै हुन्छु ।' के उनी कहिलेकाहीँ आफ्नै मनको ढोकाभित्र कैद हुन्छिन् ? प्रश्न सजिलै सोधे पनि उत्तर ढिलो आयो, 'म कहिलेकाहीँ महाअँध्यारो भएको ठाउँमा पुग्छु । यो आफैलाई पनि थाहा हुन्छ, म विरक्त हुन्छु ।'
उनलाई वैराग छुटाउने अनेकौं कुरा छन् । भन्छिन्, 'गर्न नपाएका इच्छाहरू पूरा नहुँदा म वैराग हुन्छु ।' यो वैरागको अंग्रेजी उच्चारण फ्रस्टेसन पनि हुन सक्छ ।वैराग भयो भने उनी घरबाट बाहिर निस्कन्नन् । आज पनि उनी बाहिर निस्किएकी छैनन् । दिन, घरको काम र सरसफाइमा बित्छ । त्यसो गर्दा यसो हुन्छ, भन्छिन्, 'कहिलेकाहीँ अल्मलिएका प्रश्नका जवाफहरू पनि पाउँछु ।'मिठो सपनाजस्तो मुस्कुराउने उनीसित के यस्ता पनि सपना छन्, जो कहिल्यै पूरा भएनन् । र, तीनका सम्भावनाका ढोकाहरूमा पनि ताला लागिसकेको छ ? उनका लागि 'विथ आउट सुगर' दूधचिया आयो । एक घुट्को पिएर भनिन्, 'पढेर बुबाजस्तै युएनमा काम गरुला भन्ने थियो । ती पूरा भएन ।'पूरा नभएका उनका सपनाहरू छोरीमा सरेका छन् । विहानै कोसोभोमा रहेकी छोरीसित इमेलमा कुरा गरेकी उनी भन्छिन्, 'म मेरी छोरीलाई पढाइमा फ्री छोडिदिन्छु,' थपिन्, 'दुलाह खोज्दै हिँड्दिनँ ।'उनी खासै सपना देख्दिनन् । सुनाइन्, 'मलाई निद्राको कमी छ ।' कहिलेकाहीँ छट्पटी यस्तो बढिदिन्छ कि, भन्छिन् 'छट्पटीले सुत्न सक्दिनँ ।'सुते पनि सुल्म्झिएका र मनोरम सपना देखिँदैनन् । उनकी सासु एक महिना रोगले थलिएर यो संसारबाट बिदा भइन् । उनलाई थाहा थिएन, बिदा यत्ति चाँडै गर्नुपर्ला । उनीसँग कयौं प्रश्नहरू बाँकी नै थिए । एकपल्ट भने यस्तो सपना देखिछिन्- सपनामा उनी एउटा पुरानो नेवारी घरमा पुगिन् । त्यहाँ रातो साडी लगाएकी वृद्धा नेवारी माता थिइन् । माताले भनिन्, 'तिमी मलाई पत्याउँदिनौ । मलाई थाहा छ, तिमी आफ्नी सासुलाई केही प्रश्न गर्न चाहन्थ्यौ ।'माता 'एकछिन् बस्दै गर' भनेर भित्र गइन् । माता भित्र जानेबित्तिकै उनको छेउमा केही तातो चिज आयो । यसो हेरिन् । ओह्ह्, सासु रहिछिन् । उनलाई डरले चिसो बनायो ।
उनले सोधिन्, 'तपाईं त बित्नुभएको होइन र ?''नडराऊ, सोध के सोध्नुछ ?' सासुले सोधिन् ।उनले मनको कुनामा चाबीको झुत्तोजस्तो सम्हालेर राखेको प्रश्न गरिन्- 'म डराइरहेकी छु । कसरी घर चलाउने ?'सासुले भनिछन्, 'म यतै छु । घर छोडेकी छैन ।'यो सपना सुनाएपछि उनले भनिन्, 'मलाई त्यहाँदेखि कहिल्यै डर लाग्दैन ।''म घरबाट बाहिर निस्कन चाहन्थें । नयाँ संसारमा पुग्न चाहन्थें,' उनले भनिन् । दिनहरू त्यसै खेर जान दिनुहुँदैन । दिनलाई लगाम लगाएर आफ्नो बाटोमा हिँडाउनुपर्छ । र, पो स्थापना भयो, सिद्धार्थ आर्ट ग्यालरी । 'ग्यालरी खोलेर म कलासित घुलमिल भएँ', नत्र यस्तो हुनसक्थ्यो, 'ग्यालरी नखोलेको भए । म पढ्थें कि ?' 'मलाई मान्छेको कम्पनी मनपर्छ,' उनी चाहन्छिन्, नयाँ-नयाँ दिनहरू आफैं बनाऊ । नत्र एउटा सर्कलमा जिन्दगी बाँच्दाबाँच्दै जिन्दगीले नै भनिदेला- 'तिम्रो साथ मनोटोनस भयो ।'
उनले भनिन्, 'मलाई ब्युटिफूल कुराहरू हेर्न मनलाग्छ ।' मैले भनें, 'बन्न मन लाग्दैन ?' भन्दै उनी मुस्कुराइन् । उमेर ढल्किँदै गए पनि सुन्दरता उनको दास छ । उनी उत्तिकै सुन्दर छन् । यसको रहस्य के होला ? धेरैले सोध्न चाहेको प्रश्न मैले नै सोधिदिए । उनले भनिन्, 'खोई कुन्नि ?' संसारका सबै सुन्दर मानिसहरूलाई आफ्नो सुन्दरताको रहस्य किन थाहा हुन्न ? बिहान पूजा, दिउँसो ग्यालरी र केही इभेन्टस्हरू । उनको जीवन रुटिनमा चलिरहेको छ । जीवन के हो ? उनीसँग उत्तर छैन । सेक्सपियरको कपिराइट उनलाई दिने हो भने उनी यस्तो भन्नेछिन्, 'हामी सपनाले कल्पिएको अर्को सपना हौं ।' कुरा सकियो । छेउको सोफामा निदाएको बुट्टे झ्वाट्ट उठ्यो । यसरी कि आफ्नै मनको अँध्यारो गुफाबाट बाहिर उज्यालोमा हाम फालेको होस् ।

Thursday, April 10, 2008

नयाँ युगको प्रारम्भ

नयाँ युगको प्रारम्भ : नयाँ नेपालको प्रथम सूर्योदय





मैले मतदान गर्ने मतदान केन्द्रमा मतदान गर्दै स्थानीय जनता




म आफै मतदान गर्ने क्रममा






Friday, March 28, 2008

चीनद्वारा वार्ता अस्वीकार

तिब्बतको संकट समाप्त गर्न दलाई लामासँग वार्ता गर्न अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसको आह्वानलाई चीनले अस्वीकार गरेको छ । बुधबार राष्ट्रपति बुसले दलाई लामाको पक्षसँग कुरा गर्न चिनियाँ समकक्षी हु जिन्ताओलाई आग्रह गरेका थिए । तिब्बतमा कुटनीतिज्ञ र पत्रकारहरूलाई भित्रिन अनुमति दिनसमेत बुसले हुलाई आग्रह गरेका छन् । बुसले चिनियाँ राष्ट्रपति हु जिन्ताओसँग टेलिफोनमा कुरा गर्दै यस्तो आग्रह गरेका हुन् । यस कुराकानीबारे जानकारी दिँदै बुसका राष्ट्रिय सुरक्षा सल्लाहकार स्टेफेन हेड्लीले भनेका छन्, 'विगतमा चिनियाँ अधिकारी र दलाई लामाका प्रतिनिधिबीच वार्ता हुने गथ्र्यो तर, अहिले स्थगित गरिएको छ ।' राष्ट्रपति बुसले त्यो प्रक्रिया पुनर्बहाली गर्न आग्रह गरेका छन् । हेड्लीका अनुसार टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति हुले तिब्बतलगायत अन्य केही क्षेत्रमा हिंसात्मक अपराधको योजना रच्ने र भड्काउने, आगामी अगस्टमा हुने बेइजिङ ओलम्पिकलाई बिथोल्ने गतिविधि दलाई लामाले रोक्नुपर्ने र तिब्बत र ताईवानलाई चीनको अभिन्न अंग मान्नुपर्ने बताएका थिए । ल्हासाको दंगा 'दलाई लामा गुटले दाबी गरेअनुसार कुनै पनि अर्थमा शान्तिपूर्ण प्रदर्शन वा अहिंसात्मक नभएर खुलमखुल्ला गम्भीर र हिंसात्मक अपराध भएको' राष्ट्रपति हुले बुसलाई बताएको सिन्हवा समाचार संस्थाले जनाएको छ । मानवअधिकारको टड्कारो उल्लंघन हुने, सामाजिक व्यवस्था खल्बल्याउने र जनधनको सुरक्षा जोखिममा पार्ने ज्यादतीपूर्ण अपराधलाई कुनै पनि जिम्मेवार सरकार टुलुटुलु हेरेर बस्न नसक्ने हुले बताएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका अनुसार यथार्थमा स्वतन्त्र तिब्बतको वकालत गर्न छाडे र मातृभूमि टुक्र्याउन लक्षित गतिविधि बन्द गरे दलाई लामासँग सम्पर्क र परामर्श जारी राख्ने चिनियाँ सरकारको चाहनालाई पनि राष्ट्रपति हुले दोहोर्‍याए ।

Thursday, March 20, 2008

रहर दुनियाँ बदल्ने


खमेरुजका गुरिल्लाले ध्वस्त पारेको कम्बोडियामा उनले स्कुल खोले, पुस्तकालय खोले । अमेरिकी सरकारले आतंककारीको सूचीमा राखेका माओवादीका कतिपय आधार इलाकामा पनि यिनले पुस्तकको बाकस पठाए । यिनको छात्रवृत्तिमा पढ्नेमा कति माओवादी कार्यकर्ताका सन्तान थिए होलान् ? त्तरी कुनोबाट एउटा ठूलो टुरिस्ट बस धुलो उडाउँदै सहरतिर आइरहेको छ । भत्किएको सडकका खाल्टाखुल्टीलाई जिस्क्याउँदै हुँइकिइरहेको बसभित्र एकजना छ फुट अग्ला 'खैरे' सानले उभिएका छन् । वरिपरिका सिट खालि छन् तर, यी 'कुइरे' भने बसको बीचमा दुवैतिरको सिटमा हात अड्याएर पछाडि फर्किएका छन् । उनका हरिया आँखाभित्र उत्साहको नीलो सरोवर छचल्किएजस्तो लाग्छ । पछिल्लो सिटमा बसेर उनीसँग कुरा गरिरहेकी नेपाली महिलाको हाउभाउमा पनि अजिवको उत्साह देखिन्छ । 'तपाइं चिन्ता नगर्नुस् जोन, यहाँको सबै हामी मिलाउँछौं,' उनले भनिन् । 'त्यसो भए 'डन', तपाइं यहाँ मिलाउनोस्, उता पैसा खोज्नलाई म छँदैछु,' एउटा मध्यमस्तरको हाँसो हाँसेर उनले महिलासँग हात पड्काए ।नीलो जर्सी र नीलै जिन्स लगाएका यी हुन्, जोन उड । टाउकोमा एउटा 'धुप' चस्मा सिउरिएका छन्, गलामा तीन/चार खादा खप्टिएका छन् । हुनलाई यी अमेरिकी हुन् तर, यी नेपालमा हिट छन् । न अमेरिकाले यिनलाई नेपालले जति चिन्यो, न यिनले नेपालजति अमेरिकालाई चिने । दुई दिन अघिदेखि म यिनका साथ पृथ्वी राजमार्ग छेउछाउ र पोखरावरपरका स्कुलको भ्रमण दलमा छु । भारतीय कवि, गीतकार जावेद अख्तर कहिल्यै महंगो कलमले गीत लेख्दैनन् । यसमा उनको तर्क छ, 'महंगो कलम एक दिन हराउँछ अनि, यसको पीडा कलमको मूल्यभन्दा चर्को हुन्छ ।' तर, यो सपना देख्नेहरूको समस्या होइन, कलमले लेखेर सपना देखिँदैन । कुन दिन, कहाँ के कारण जीवनले बाटो बदल्छ, कसैले भन्न सक्दैन । नौ वर्षअघि एक दिन १८ दिन लामो पदयात्राका लागि डुमे्रबाट बसको छतमा बसेर बेंसीसहर लाग्दा जोन उडलाई जीवन कुन मोडमा जाँदैछ, थाहा थिएन । अन्नपूर्ण पदयात्रा मार्गको एउटा पहाडी बिसौनीमा उनका पाइला रोकिए । थाहै नपाई ती अर्कै बाटो लागे । टुरिस्ट हिँड्ने बाटो छाडेर उनी स्थानीय स्रोतव्यक्ति पशुपति न्यौपानेको पछिपछि मस्र्याङ्दीको किनार समाएर उकालो लागे । मस्र्याङ्दीको 'नरमाइलो' सुसाइको कुनै भाका थिएन । न सिरेटोको कुनै रंग थियो । यो मस्र्याङ्दीको मुहानको खोजी थिएन । पहाडमा के जादू छ, खै ? माइक्रोसफ्टका हाकिमलाई बाहुनडाँडाले फेरि तान्यो । अर्को वर्ष उनी फेरि मस्र्याङ्दी किनारको साँघुरो बाटोमा थिए । यसपटक साथमा थिए उनका बा- उडी । र, पछिल्तिर थियो पिठ्यूँमा तीन हजार किताब बाँधिएका खच्चडको लस्कर । यो मोडबाट एउटा जीवन फेरियो । विश्वका सबैभन्दा धनी मानिस विल गेट्सको प्रसिद्ध माइक्रोसफ्ट कम्पनीको एसिया बजार निर्देशक जोन उड, यो पहिलेको परिचय थियो । जुन अब यस्तो भयो, 'नेपाल, भारत, श्रीलंका, भियतनाम, कम्बोडियालगायतका सात एसियाली राष्ट्रमा पुस्तकालय, स्कुल र कम्प्युटर ल्याब खोल्ने 'रुम टु रिड' का संस्थापक जोन उड ।'माइक्रोसफ्टको जीवन सम्पन्न थियो, धनी र चाहेको खण्डमा विलासी पनि थियो । यसमा पैसा थियो, आफूमुनि काम गर्ने सत्तरी कर्मचारी थिए । सिड्नी र बेइजिङमा सारा सुख सुविधा गुट्मुटिएर लडिबुडी खेलिरहेका थिए । चौतीसको उमेरमा उनका साथमा एउटी सुन्दरी पनि थिइन्, जसलाई उनी 'गर्लफ्रेन्ड' भन्न सक्थे । यो जीवनको एउटा सोझो राजमार्ग थियो । जीवन ज्यामिति होइन, यसैले यसका रेखाहरू 'चारलेन' चौडा हुँदैनन् । 'रुम टु रिड' एउटा यस्तो गोरेटो थियो, जो घनघोर जंगलका बीचमा पुगेर एकाएक अलप हुन्थ्यो । यहाँ हाकिमदेखि पिउनसम्म सबै एकजना मात्र थियो- जोन । आफैले खनेको बाटोमा हिँड्नुको मजालाई आजसम्म कुनै क्यामेराले कैद गर्न सकेको छैन । सो, जोन उड गोरेटो बनाउने काममा लागे । नौ वर्षमा त्यो मसिनो गोरेटो पाँच हजार एक सय ६७ नयाँ पुस्तकालयको आँगनमा पुग्यो, चार सय ४२ स्कुलको ढोका 'घर्‍याक्क' उघार्‍यो र, १४ लाख पुस्तकलाई गन्तव्यमा पुर्‍यायो । र, अब यो अन्तर्राष्ट्रिय राजमार्गमा परिणत हुँदै अरू ६ देशसम्म पुगिसकेको छ । हेम्जाको सुनसान फुटबल ग्राउन्डदेखि अलि परको स्कुलमा आज विशेष कार्यक्रम छ । अघिल्लो दिन धादिङ महादेवबेंसीको स्कुलमा पनि यस्तै उत्सव मनाइएको थियो । हातमा पुष्पगुच्छा र अबिर लिएका सिसुवाका नानीहरू र हेम्जाका नानीहरूमा खासै फरक देखिन्थेनन् । यी सबै जोन उडको स्वागतमा गेट बनाएर बसेका छन् । कतै पुस्तकालय उद्घाटन, कतै स्कुल निरीक्षण । केही घन्टापछि जोन उड हेम्जा चोकको दक्षिणपट्टिको एउटा सानो चिया दोकानमा छन् । बेन्चमा उनका केही अमेरिकी दाता र रुम टु रिडका नेपाल निर्देशक दिनेश श्रेष्ठलगायतका छन् । पसलकी साहुनीकी छोरी सन्तमाया थापामगर जोन उडको संस्थाले छात्रवृत्ति दिएका चार हजार केटीमध्येकी एक हुन् । यो साता उनको एसएलसी चरिहेको छ । दुई महिनापछि आउने उनको रिजल्टको उडलाई अहिलेदेखि प्रतीक्षा छ । 'यिनले अगाडि पनि राम्रो पढून् भन्ने मेरो चाहना छ, यसका लागि सक्दो सहयोग गर्ने म प्रयास गर्नेछु,' 'अतिथि चिया' पिएर बाहिर निस्केपछि उनले भने । कोइलाको धुलोको बादल र हुस्सुले ढाकेको बेइजिङमा थिइन्- सोफी । भर्खरै चीन प्रवेश गरेको मल्टिनेसनलमा गतिलो जागिर खाने सोफी कुनै बेला यिनकी प्रेमिका थिइन् । तर, अहिले छैनन् । जोनले आफ्नो पुस्तकमा उनका बारेमा उल्लेख गरेको सूचनाले यसो भन्छ, 'बडो दुःखले तिनले त्यो जागिर पाएकी थिइन् । त्यसको सुख भोग गर्न छाडेर उनी मसँग नेपालका गरिब पहाडमा खुट्टा मर्काउन जान तयार थिइनन् । यसैले हामीसँगै रहन सकेनौं ।' नौ वर्षमा जोन उड प्रसिद्ध भइसकेका छन् । चार वर्षअघिको टाइम पत्रिकाको विशेष अंकमा उनका बारेमा चार पेज लामो लेख छापिएको छ । चालीस वर्षभन्दा कम उमेरका एसियाली हिरोको सूचीमा टाइमले जोनलाई सामेल गरेको थियो । बिबिसी, सिएनएनमा उनका प्रत्यक्ष अन्तर्वार्ता प्रसारण भएका छन् । उनले यो सफलता पाउँदै गर्दा सोफी कहाँ गइन् होला ? 'यो भन्न मिल्दैन, म उनका बारेमा कुनै कुरा गर्दिनँ,' उनले भने । अचानक सोफीको प्रश्न आउँदा उनको अनुहार अलि मलिन देखियो । यो सबै सफलतापछि सोफीले जोनलाई केही त सन्देश पठाइन् होला ! 'म यो पनि भन्दिनँ,' उनी बोलेनन्, उनका आँखा बोले । ४४ को उमेरमा जोन उड अविवाहित छन् । सोफी कहाँ गइन्, उनी भन्दैनन् । उनका लागि रुम टु रिड नै जीवनसाथीजस्तो बनिसकेको छ । 'तेरी प्रेमीका, श्रीमती र रखौटी पनि रुम टु रिड नै रहेछ,'सनफ्रान्सिस्कोमा उनलाई एउटी पासोमा परिसकेकी परीले भनी । 'मैले हाँसेर टारंे । मसँग लभ गर्ने समय थिएन । मेरो काम यस्तो थियो कि म जतिबेला पनि विश्वको अर्को छेउका लागि उड्न तयार रहनुपथ्र्यो,' उनले भने । उनको नाममा गाँसिएको शब्द 'उड'को अमेरिकामा के अर्थ लाग्छ, थाहा छैन । तर, नेपालमा यसको अर्थ काठ हुन्छ, सुकेको सालको एउटा कडा अग्राख । पाटनको यलमाया केन्द्रमा पुस्तक विमोचन कार्यक्रममा पहिलोपटक यिनलाई देख्दा यिनको अनुहारमा कुनै कडा 'कुरो' थिएन । बरु, अब रोइहाल्छन् कि जस्तो गरी यिनको अनुहार सेतो बादलले ढाकिएको थियो । 'कोही धनी परिवारमा जन्मिनु वा राम्रो शिक्षा पाउनुमा उसको कुनै योगदान हुँदैन, त्यो ठाउँमा ऊ नभएर अर्को कुनै मान्छे पनि हुन सक्थ्यो,' जोनलाई यस्तो लाग्छ । गरिब हुनुमा गरिबको दोष बढी हुन्छ कि भ्रष्ट राजनीति र अवैज्ञानिक समाज व्यवस्थाको ? यो विचार कुनै पुँजीवादी अमेरिकाभन्दा साम्यवादी क्युवाको नजिक लाग्छ । माओवादी जनयुद्ध चरममा पुगेका बेला उनी नेपालमा सक्रिय थिए । कुनै जमानामा 'बोकेदाह्री' भएका कम्युनिस्ट होचिमिन्हको देश भियतनामका 'भू' ले पनि उनलाई ताने । हनोइका बीचमा खैरेलाई मोटरसाइकलमा हालेर होटलसम्म पुर्‍याउन तँछाड-मछाड गर्ने युवा-जमातले उनको विचारलाई हल्लाइदियो । त्यसको केही वर्षपछि सुनामीले समुद्री तटमा ल्याएको विनाशले उनलाई विनायोजना श्रीलंकाको भिसा दिलायो । अमेरिकाको एउटा इन्जिनियरको घरमा जन्मिएका जोन स्वाभाविक रूपले त्यो कोटीमा पर्छन्, जसको साथमा भाग्य छ, 'चन्द्रमा दाहिना परेका छन् ।' तर, उनी यस्ता धेरै भाग्यमानीभन्दा किन फरक छन् भने उनलाई भाग्यले नील डाम बसाउने गरी डसेकाहरूको पनि 'फिकर' छ । अमेरिकामा आक्रमणकारी राष्ट्रपतिहरू मात्र छैनन्, विचारवान् नोम चोम्स्कीहरू पनि छन् । चम्किलो हलिउडको ग्ल्यामर मात्र छैन, व्यवस्था र प्रशासनको धज्जी उडाउने माइकल मुरहरू पनि छन् । र, छन्- यी सबै 'लफडा'बाट अलग रहेर नेपालका भीरपाखाका स्कुलका लागि चन्दा उठाउन महिनैपिच्छे पार्टी आयोजना गर्ने जोन उडहरू । जोनको 'लिभिङ माइक्रोसफ्ट टु चेन्ज द वल्र्ड' करिब एक लाख प्रति बिक्री भइसकेको छ । पुस्तकको हालसम्म सोह्र भाषामा अनुवाद भइसकेको छ । 'जापानमा मात्रै पन्ध्र हजार प्रति बिक्यो,' फेवा तालको छेउमा बसेर उनले भने । उनको यसपालिको भ्रमण टोलीका केही बेलायती, केही जापानिज मित्र माइक रेस्टुरेन्टमा लन्चको प्रतीक्षामा छन् । यात्राभरि नै जापानीहरूका लागि उनले घरीघरी 'हाई' भनिरहे । बाँकी भाषा अरूले बुझ्दैनन् । चीनमा रहँदा उनले त्यहाँको टेलिभिजनमा विल गेट्सको अन्तर्वार्ताको चाँजो मिलाएका थिए । केही दिनअघिदेखि नै अन्तर्वार्ताकारसँग दोस्ती गरेर उनले प्रश्नको अगि्रम जानकारी लिएका थिए । तर, जिंगि्रङ कपाल, विनापालिसको जुत्तामा हिँड्ने खरबपति विल महात्मा गान्धीको सिद्धान्तमा विश्वास गर्ने 'मस्ताराम' देखिए । उनले पहिले नै पाएको प्रश्नको खासै वास्ता गरेनन् । जोन यसबाट हल्का दुःखी थिए । अहिले त्यो दुःख छैन । विश्वको अर्को टुँडोमा विद्यालय खोल्न विलले जोनलाई कति सहयोग गरे, 'अलि अलि,' उनले असजिलो गरी नेपालीमा भने । कति भन्ने उनले खुलाएनन् । उनी धेरै कुरा खुलाउँदैनन् । तपाई उनलाई सोध्नोस्- नेपालको शिक्षाको स्तर बढाउन के गर्नुपर्ला ? बडो गम्भिर भएर उनले उत्तर दिनेछन्- 'म नेपालको शिक्षा मामिलाको विज्ञ होइन ।''संसारमा करिब एक अरब निरक्षर मानिस छन्, त्यसमध्ये करोड बच्चालाई २०२० सम्ममा सहयोग गर्ने मेरो उद्देश्य हो,' यो उनको जीवनको लक्ष्य हो । 'केही नगर्नु सबैभन्दा खराब विकल्प हो' चन्दादातालाई पठाउने ई-मेलको अन्त्यमा उनी यस्तो लेख्छन् । र, सम्भावित दातालाई उनी 'अगि्रम धन्यवाद' पठाउँछन् । खमेरुजका गुरिल्लाले ध्वस्त पारेको कम्बोडियामा उनले स्कुल खोले, पुस्तकालय खोले । अमेरिकी सरकारले आतंककारीको सूचीमा राखेका माओवादीका कतिपय आधार इलाकामा पनि यिनले पुस्तकको बाकस पठाए । यिनको छात्रवृत्तिमा केही माओवादी कार्यकर्ताका सन्तान पनि थिए कि ? यसमा न यिनलाई चासो छ, न कुनै भेदभाव गर्ने नीति छ ।तीन सय बीस पेजको यिनको पुस्तक, २००४ को टाइममा छापिएको लेख, यिनको आफ्नो वेवसाइट र दुई दिनको यात्रापछि मलाई यस्तो लाग्यो, जोन उड एउटा सम्पन्न अमेरिकी र चतुर व्यापारी हुन् । तर, यिनले आफ्नो सारा सम्पत्ति र चातुर्यको प्रयोग थप धन थुपार्न गरेनन् । यसको बदला दुनियाँ बदल्ने 'असम्भव !' सपनाको खेतीमा मलबीऊ छर्किन गरे । विस्तारै चाउरी पर्दै जान थालेको उनको अनुहार पारदर्शी छ । कुनै स्कुलमा उनको स्वागतमा भाषण गर्ने उत्साही शिक्षकले जब उनलाई 'रेकक्रसको हेनरी ड्युनाजस्तै शिक्षामा जोन उड छन्' भन्छन्, तब उनको अनुहार हेर्न लायक हुन्छ । उनलाई नेपालका मानिस खुब मनपरे । 'नेपालका मानिससँग खुसी हुने गजबको क्षमता छ,' उनी भन्छन् । तर, भिसामा छाप लगाउन पूरै ४५ मिनेट लगाउने एयरपोर्ट प्रशासन उनलाई पटक्कै मनपरेन । 'यत्रो समय एयरपोर्टमै लागेपछि विदेशबाट आउनेले यो देशका बारेमा के सोच्ला ?' उनले प्रश्न गरे । अब मौन रहने पालो मेरो थियो । किनभने, म यो प्रश्नको उत्तर खल्तीमा हालेर हिँडेको थिइनँ ।

(नयाँ पत्रिकाबाट)

Wednesday, March 12, 2008

म्यादी प्रहरी

संविधान सभाको चुनावको लागि भर्ना गर्न लागिएका म्यादी प्रहरीको छनौट प्रकृयामा सहभागी हुन लागेका युवा तथा युवती .........




Monday, March 10, 2008

स्वर्ग नपुगी चिठ्ठी फर्कियो

फ्रान्सकी एक टिनएजर केटीले आफ्नी मृत आमालाई लेखेको चिठ्ठी स्वर्ग नपुगी फर्किएको छ । हुलाक अधिकारीहरुले त्यो चिठ्ठीमा आमा बस्ने ठाउँको "पोष्टल कोड" नलेखिएको भन्दै त्यो चिठ्ठी तिनै टिनएजरलाई फिर्ता गरिदिएको हो ।
१३ वर्षीया यिनको नाम एनाइज मात्र बताइएको छ । उनले आमालाई लेखेको पत्रमा "स्वर्गीय मार्ग, स्वर्ग" उल्लेख गरिएको थियो । हुलाक अधिकारीहरुले उक्त पत्रमा उनको आमा बस्ने घरको स्पष्ट ठेगाना नभएको र पोष्टल कोड पनि नरहेको भन्दै फिर्ता गरिदिएको थियो ।
ले जर्नल डि साउने एट लोर पत्रिकाका अनुसार चिठ्ठी पठाएको दुइ दिनपछि यिनलेले पत्र फिर्ता पाएकी थिइन् । फ्रान्सको चेटिलोनसस्थित घर भएकी यी टिन एजरसँग चिठ्ठी फिर्ता गर्दै र हुलाक टिकट नकाटेकोभन्दै उनलाई १.३५ यूरो तिर्न आग्रह गरेको थियो ।
दुइ वर्षअघि उनकी आमाको मृत्यु भएको थियो । उनकी आमा कतै टाढा गएकी हुनसक्ने उनले अनुमान गरेर चिठ्ठी पठाएको र उनी अहिलेसम्म चिठ्ठी पठाउने कुरामा नै बढी ढिठ रहेकी छिमेकीहरुले बताएका छन् ।
यता फ्रान्सेली हुलाक कार्यालयले उनको चिठ्ठी आफूहरुले पठाउन नसक्ने भन्दै ती बालिकासँग क्षमायाचना गरेको छ । हुलाक प्रवक्ताले भनेका छन्- "फ्रान्समा एउटा गाउँको नाम "सिल" त छ तर त्यहाँ कुनै स्वर्गीय मार्ग भएको मलाई चाहिँ अहिलेसम्म थाहा भएन ।"
फ्रान्सेली भाषामा सिलको अर्थ स्वर्ग भन्ने हुन्छ ।

गलत ठाउँमा धम्क्याउँदा

हतियारले सुसज्जित एक चोर अष्ट्रेलियाको राजधानी सिड्नीस्थित एउटा बारमा के पुगेको थियो, त्यसको हालत यस्तो गोरु चुटाइमा पुगेर टुंगियो कि अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशन टीभीले समेत समाचार बनाउन पुग्यो ।
एपी समाचार संस्थाका अनुसार नाम नखुलाइएका ती चोर राजधानी सिड्नीको अत्यन्त व्यस्त र गज्जबको व्यापार हुने ठाउँमा डकैतीका लागि पुगे । उनले मास्क लगाएका थिए र ठूलो लामो चक्कु हातमा लिँदै बारको अगाडिपट्ट िउभिएका खजाञ्चीलाई तेर्‍स्याए ।
रातको नौ बजे यसरी पैसाको लागि धम्क्याएपछि खजाञ्ची पनि के गर्ने के गर्ने भए । तर उनले हल्ला गरे- डकैती गर्नेहरु आए, मलाई धम्क्याए ।
सोही बारको पल्लो कोठामा एक स्थानीय साउदर्न क्रस क्रूजर क्लबका ५० जना सदस्यहरुको गम्भीर बैठक चलिरहेको थियो । शहरकै नामी "बाइकर"हरुको यो क्लबमा प्रायः मुस्तण्डेहरु नै हुने गर्दछन् । आफ्नो बैठक चलिरहेको बेलामा कुनै तेस्रो व्यक्तिले डकैती गर्न आएर खलल पुर्‍याएको उनीहरुलाई कत्ति पनि रुचेन ।
५० जना बाहिर निस्किएपछि विचरा दुइ जना चोरको के लाग्थ्यो ! ती चोरहरुको अनुहारको भूगोल नराम्ररी बिग्रिएपछि तिनलाई अस्पताल भर्ना गर्नु पर्‍यो ।
गोरु चुटाइ चुट्नेमध्येका एक जेस्टरले भने- "अरुले मिहिनेतपूर्वक कमाएको पैसालाई एकै चोटीमा स्वाहा पार्न खोज्नेहरुलाई हामीले सानोतिनो मर्मत मात्र गर्‍यौँ र तबसम्म मर्मत गरिरह्यौँ जबसम्म तिनीहरुलाई लिन प्रहरी आइपुगेन ।"
प्रहरीले चाहिँ अस्पतालमा भर्ना भएका चोरहरुको स्थिति सामान्य रहेको जानकारी दिएका छन् ।
जेस्टरले भने- "शहरभरि हामीलाई चिन्दछन्, हाम्रा बाइकलाई पनि देख्नेले परैबाट आदरका साथ हेर्छन् । आँखामा मास्क लाएकाले होला तिनीहरुले हाम्रो बाइक् छेउमै राखेको देखेनछन् । तिनको आँखाको दोषले जीउले सास्ती पायो ।"
जेस्टले अन्त्यमा थपे- "तिनीहरु लगत ठाउँमा गलत दिनमा डकैती गर्न हिँडेका रहेछन् !"