खमेरुजका गुरिल्लाले ध्वस्त पारेको कम्बोडियामा उनले स्कुल खोले, पुस्तकालय खोले । अमेरिकी सरकारले आतंककारीको सूचीमा राखेका माओवादीका कतिपय आधार इलाकामा पनि यिनले पुस्तकको बाकस पठाए । यिनको छात्रवृत्तिमा पढ्नेमा कति माओवादी कार्यकर्ताका सन्तान थिए होलान् ? त्तरी कुनोबाट एउटा ठूलो टुरिस्ट बस धुलो उडाउँदै सहरतिर आइरहेको छ । भत्किएको सडकका खाल्टाखुल्टीलाई जिस्क्याउँदै हुँइकिइरहेको बसभित्र एकजना छ फुट अग्ला 'खैरे' सानले उभिएका छन् । वरिपरिका सिट खालि छन् तर, यी 'कुइरे' भने बसको बीचमा दुवैतिरको सिटमा हात अड्याएर पछाडि फर्किएका छन् । उनका हरिया आँखाभित्र उत्साहको नीलो सरोवर छचल्किएजस्तो लाग्छ । पछिल्लो सिटमा बसेर उनीसँग कुरा गरिरहेकी नेपाली महिलाको हाउभाउमा पनि अजिवको उत्साह देखिन्छ । 'तपाइं चिन्ता नगर्नुस् जोन, यहाँको सबै हामी मिलाउँछौं,' उनले भनिन् । 'त्यसो भए 'डन', तपाइं यहाँ मिलाउनोस्, उता पैसा खोज्नलाई म छँदैछु,' एउटा मध्यमस्तरको हाँसो हाँसेर उनले महिलासँग हात पड्काए ।नीलो जर्सी र नीलै जिन्स लगाएका यी हुन्, जोन उड । टाउकोमा एउटा 'धुप' चस्मा सिउरिएका छन्, गलामा तीन/चार खादा खप्टिएका छन् । हुनलाई यी अमेरिकी हुन् तर, यी नेपालमा हिट छन् । न अमेरिकाले यिनलाई नेपालले जति चिन्यो, न यिनले नेपालजति अमेरिकालाई चिने । दुई दिन अघिदेखि म यिनका साथ पृथ्वी राजमार्ग छेउछाउ र पोखरावरपरका स्कुलको भ्रमण दलमा छु । भारतीय कवि, गीतकार जावेद अख्तर कहिल्यै महंगो कलमले गीत लेख्दैनन् । यसमा उनको तर्क छ, 'महंगो कलम एक दिन हराउँछ अनि, यसको पीडा कलमको मूल्यभन्दा चर्को हुन्छ ।' तर, यो सपना देख्नेहरूको समस्या होइन, कलमले लेखेर सपना देखिँदैन । कुन दिन, कहाँ के कारण जीवनले बाटो बदल्छ, कसैले भन्न सक्दैन । नौ वर्षअघि एक दिन १८ दिन लामो पदयात्राका लागि डुमे्रबाट बसको छतमा बसेर बेंसीसहर लाग्दा जोन उडलाई जीवन कुन मोडमा जाँदैछ, थाहा थिएन । अन्नपूर्ण पदयात्रा मार्गको एउटा पहाडी बिसौनीमा उनका पाइला रोकिए । थाहै नपाई ती अर्कै बाटो लागे । टुरिस्ट हिँड्ने बाटो छाडेर उनी स्थानीय स्रोतव्यक्ति पशुपति न्यौपानेको पछिपछि मस्र्याङ्दीको किनार समाएर उकालो लागे । मस्र्याङ्दीको 'नरमाइलो' सुसाइको कुनै भाका थिएन । न सिरेटोको कुनै रंग थियो । यो मस्र्याङ्दीको मुहानको खोजी थिएन । पहाडमा के जादू छ, खै ? माइक्रोसफ्टका हाकिमलाई बाहुनडाँडाले फेरि तान्यो । अर्को वर्ष उनी फेरि मस्र्याङ्दी किनारको साँघुरो बाटोमा थिए । यसपटक साथमा थिए उनका बा- उडी । र, पछिल्तिर थियो पिठ्यूँमा तीन हजार किताब बाँधिएका खच्चडको लस्कर । यो मोडबाट एउटा जीवन फेरियो । विश्वका सबैभन्दा धनी मानिस विल गेट्सको प्रसिद्ध माइक्रोसफ्ट कम्पनीको एसिया बजार निर्देशक जोन उड, यो पहिलेको परिचय थियो । जुन अब यस्तो भयो, 'नेपाल, भारत, श्रीलंका, भियतनाम, कम्बोडियालगायतका सात एसियाली राष्ट्रमा पुस्तकालय, स्कुल र कम्प्युटर ल्याब खोल्ने 'रुम टु रिड' का संस्थापक जोन उड ।'माइक्रोसफ्टको जीवन सम्पन्न थियो, धनी र चाहेको खण्डमा विलासी पनि थियो । यसमा पैसा थियो, आफूमुनि काम गर्ने सत्तरी कर्मचारी थिए । सिड्नी र बेइजिङमा सारा सुख सुविधा गुट्मुटिएर लडिबुडी खेलिरहेका थिए । चौतीसको उमेरमा उनका साथमा एउटी सुन्दरी पनि थिइन्, जसलाई उनी 'गर्लफ्रेन्ड' भन्न सक्थे । यो जीवनको एउटा सोझो राजमार्ग थियो । जीवन ज्यामिति होइन, यसैले यसका रेखाहरू 'चारलेन' चौडा हुँदैनन् । 'रुम टु रिड' एउटा यस्तो गोरेटो थियो, जो घनघोर जंगलका बीचमा पुगेर एकाएक अलप हुन्थ्यो । यहाँ हाकिमदेखि पिउनसम्म सबै एकजना मात्र थियो- जोन । आफैले खनेको बाटोमा हिँड्नुको मजालाई आजसम्म कुनै क्यामेराले कैद गर्न सकेको छैन । सो, जोन उड गोरेटो बनाउने काममा लागे । नौ वर्षमा त्यो मसिनो गोरेटो पाँच हजार एक सय ६७ नयाँ पुस्तकालयको आँगनमा पुग्यो, चार सय ४२ स्कुलको ढोका 'घर्याक्क' उघार्यो र, १४ लाख पुस्तकलाई गन्तव्यमा पुर्यायो । र, अब यो अन्तर्राष्ट्रिय राजमार्गमा परिणत हुँदै अरू ६ देशसम्म पुगिसकेको छ । हेम्जाको सुनसान फुटबल ग्राउन्डदेखि अलि परको स्कुलमा आज विशेष कार्यक्रम छ । अघिल्लो दिन धादिङ महादेवबेंसीको स्कुलमा पनि यस्तै उत्सव मनाइएको थियो । हातमा पुष्पगुच्छा र अबिर लिएका सिसुवाका नानीहरू र हेम्जाका नानीहरूमा खासै फरक देखिन्थेनन् । यी सबै जोन उडको स्वागतमा गेट बनाएर बसेका छन् । कतै पुस्तकालय उद्घाटन, कतै स्कुल निरीक्षण । केही घन्टापछि जोन उड हेम्जा चोकको दक्षिणपट्टिको एउटा सानो चिया दोकानमा छन् । बेन्चमा उनका केही अमेरिकी दाता र रुम टु रिडका नेपाल निर्देशक दिनेश श्रेष्ठलगायतका छन् । पसलकी साहुनीकी छोरी सन्तमाया थापामगर जोन उडको संस्थाले छात्रवृत्ति दिएका चार हजार केटीमध्येकी एक हुन् । यो साता उनको एसएलसी चरिहेको छ । दुई महिनापछि आउने उनको रिजल्टको उडलाई अहिलेदेखि प्रतीक्षा छ । 'यिनले अगाडि पनि राम्रो पढून् भन्ने मेरो चाहना छ, यसका लागि सक्दो सहयोग गर्ने म प्रयास गर्नेछु,' 'अतिथि चिया' पिएर बाहिर निस्केपछि उनले भने । कोइलाको धुलोको बादल र हुस्सुले ढाकेको बेइजिङमा थिइन्- सोफी । भर्खरै चीन प्रवेश गरेको मल्टिनेसनलमा गतिलो जागिर खाने सोफी कुनै बेला यिनकी प्रेमिका थिइन् । तर, अहिले छैनन् । जोनले आफ्नो पुस्तकमा उनका बारेमा उल्लेख गरेको सूचनाले यसो भन्छ, 'बडो दुःखले तिनले त्यो जागिर पाएकी थिइन् । त्यसको सुख भोग गर्न छाडेर उनी मसँग नेपालका गरिब पहाडमा खुट्टा मर्काउन जान तयार थिइनन् । यसैले हामीसँगै रहन सकेनौं ।' नौ वर्षमा जोन उड प्रसिद्ध भइसकेका छन् । चार वर्षअघिको टाइम पत्रिकाको विशेष अंकमा उनका बारेमा चार पेज लामो लेख छापिएको छ । चालीस वर्षभन्दा कम उमेरका एसियाली हिरोको सूचीमा टाइमले जोनलाई सामेल गरेको थियो । बिबिसी, सिएनएनमा उनका प्रत्यक्ष अन्तर्वार्ता प्रसारण भएका छन् । उनले यो सफलता पाउँदै गर्दा सोफी कहाँ गइन् होला ? 'यो भन्न मिल्दैन, म उनका बारेमा कुनै कुरा गर्दिनँ,' उनले भने । अचानक सोफीको प्रश्न आउँदा उनको अनुहार अलि मलिन देखियो । यो सबै सफलतापछि सोफीले जोनलाई केही त सन्देश पठाइन् होला ! 'म यो पनि भन्दिनँ,' उनी बोलेनन्, उनका आँखा बोले । ४४ को उमेरमा जोन उड अविवाहित छन् । सोफी कहाँ गइन्, उनी भन्दैनन् । उनका लागि रुम टु रिड नै जीवनसाथीजस्तो बनिसकेको छ । 'तेरी प्रेमीका, श्रीमती र रखौटी पनि रुम टु रिड नै रहेछ,'सनफ्रान्सिस्कोमा उनलाई एउटी पासोमा परिसकेकी परीले भनी । 'मैले हाँसेर टारंे । मसँग लभ गर्ने समय थिएन । मेरो काम यस्तो थियो कि म जतिबेला पनि विश्वको अर्को छेउका लागि उड्न तयार रहनुपथ्र्यो,' उनले भने । उनको नाममा गाँसिएको शब्द 'उड'को अमेरिकामा के अर्थ लाग्छ, थाहा छैन । तर, नेपालमा यसको अर्थ काठ हुन्छ, सुकेको सालको एउटा कडा अग्राख । पाटनको यलमाया केन्द्रमा पुस्तक विमोचन कार्यक्रममा पहिलोपटक यिनलाई देख्दा यिनको अनुहारमा कुनै कडा 'कुरो' थिएन । बरु, अब रोइहाल्छन् कि जस्तो गरी यिनको अनुहार सेतो बादलले ढाकिएको थियो । 'कोही धनी परिवारमा जन्मिनु वा राम्रो शिक्षा पाउनुमा उसको कुनै योगदान हुँदैन, त्यो ठाउँमा ऊ नभएर अर्को कुनै मान्छे पनि हुन सक्थ्यो,' जोनलाई यस्तो लाग्छ । गरिब हुनुमा गरिबको दोष बढी हुन्छ कि भ्रष्ट राजनीति र अवैज्ञानिक समाज व्यवस्थाको ? यो विचार कुनै पुँजीवादी अमेरिकाभन्दा साम्यवादी क्युवाको नजिक लाग्छ । माओवादी जनयुद्ध चरममा पुगेका बेला उनी नेपालमा सक्रिय थिए । कुनै जमानामा 'बोकेदाह्री' भएका कम्युनिस्ट होचिमिन्हको देश भियतनामका 'भू' ले पनि उनलाई ताने । हनोइका बीचमा खैरेलाई मोटरसाइकलमा हालेर होटलसम्म पुर्याउन तँछाड-मछाड गर्ने युवा-जमातले उनको विचारलाई हल्लाइदियो । त्यसको केही वर्षपछि सुनामीले समुद्री तटमा ल्याएको विनाशले उनलाई विनायोजना श्रीलंकाको भिसा दिलायो । अमेरिकाको एउटा इन्जिनियरको घरमा जन्मिएका जोन स्वाभाविक रूपले त्यो कोटीमा पर्छन्, जसको साथमा भाग्य छ, 'चन्द्रमा दाहिना परेका छन् ।' तर, उनी यस्ता धेरै भाग्यमानीभन्दा किन फरक छन् भने उनलाई भाग्यले नील डाम बसाउने गरी डसेकाहरूको पनि 'फिकर' छ । अमेरिकामा आक्रमणकारी राष्ट्रपतिहरू मात्र छैनन्, विचारवान् नोम चोम्स्कीहरू पनि छन् । चम्किलो हलिउडको ग्ल्यामर मात्र छैन, व्यवस्था र प्रशासनको धज्जी उडाउने माइकल मुरहरू पनि छन् । र, छन्- यी सबै 'लफडा'बाट अलग रहेर नेपालका भीरपाखाका स्कुलका लागि चन्दा उठाउन महिनैपिच्छे पार्टी आयोजना गर्ने जोन उडहरू । जोनको 'लिभिङ माइक्रोसफ्ट टु चेन्ज द वल्र्ड' करिब एक लाख प्रति बिक्री भइसकेको छ । पुस्तकको हालसम्म सोह्र भाषामा अनुवाद भइसकेको छ । 'जापानमा मात्रै पन्ध्र हजार प्रति बिक्यो,' फेवा तालको छेउमा बसेर उनले भने । उनको यसपालिको भ्रमण टोलीका केही बेलायती, केही जापानिज मित्र माइक रेस्टुरेन्टमा लन्चको प्रतीक्षामा छन् । यात्राभरि नै जापानीहरूका लागि उनले घरीघरी 'हाई' भनिरहे । बाँकी भाषा अरूले बुझ्दैनन् । चीनमा रहँदा उनले त्यहाँको टेलिभिजनमा विल गेट्सको अन्तर्वार्ताको चाँजो मिलाएका थिए । केही दिनअघिदेखि नै अन्तर्वार्ताकारसँग दोस्ती गरेर उनले प्रश्नको अगि्रम जानकारी लिएका थिए । तर, जिंगि्रङ कपाल, विनापालिसको जुत्तामा हिँड्ने खरबपति विल महात्मा गान्धीको सिद्धान्तमा विश्वास गर्ने 'मस्ताराम' देखिए । उनले पहिले नै पाएको प्रश्नको खासै वास्ता गरेनन् । जोन यसबाट हल्का दुःखी थिए । अहिले त्यो दुःख छैन । विश्वको अर्को टुँडोमा विद्यालय खोल्न विलले जोनलाई कति सहयोग गरे, 'अलि अलि,' उनले असजिलो गरी नेपालीमा भने । कति भन्ने उनले खुलाएनन् । उनी धेरै कुरा खुलाउँदैनन् । तपाई उनलाई सोध्नोस्- नेपालको शिक्षाको स्तर बढाउन के गर्नुपर्ला ? बडो गम्भिर भएर उनले उत्तर दिनेछन्- 'म नेपालको शिक्षा मामिलाको विज्ञ होइन ।''संसारमा करिब एक अरब निरक्षर मानिस छन्, त्यसमध्ये करोड बच्चालाई २०२० सम्ममा सहयोग गर्ने मेरो उद्देश्य हो,' यो उनको जीवनको लक्ष्य हो । 'केही नगर्नु सबैभन्दा खराब विकल्प हो' चन्दादातालाई पठाउने ई-मेलको अन्त्यमा उनी यस्तो लेख्छन् । र, सम्भावित दातालाई उनी 'अगि्रम धन्यवाद' पठाउँछन् । खमेरुजका गुरिल्लाले ध्वस्त पारेको कम्बोडियामा उनले स्कुल खोले, पुस्तकालय खोले । अमेरिकी सरकारले आतंककारीको सूचीमा राखेका माओवादीका कतिपय आधार इलाकामा पनि यिनले पुस्तकको बाकस पठाए । यिनको छात्रवृत्तिमा केही माओवादी कार्यकर्ताका सन्तान पनि थिए कि ? यसमा न यिनलाई चासो छ, न कुनै भेदभाव गर्ने नीति छ ।तीन सय बीस पेजको यिनको पुस्तक, २००४ को टाइममा छापिएको लेख, यिनको आफ्नो वेवसाइट र दुई दिनको यात्रापछि मलाई यस्तो लाग्यो, जोन उड एउटा सम्पन्न अमेरिकी र चतुर व्यापारी हुन् । तर, यिनले आफ्नो सारा सम्पत्ति र चातुर्यको प्रयोग थप धन थुपार्न गरेनन् । यसको बदला दुनियाँ बदल्ने 'असम्भव !' सपनाको खेतीमा मलबीऊ छर्किन गरे । विस्तारै चाउरी पर्दै जान थालेको उनको अनुहार पारदर्शी छ । कुनै स्कुलमा उनको स्वागतमा भाषण गर्ने उत्साही शिक्षकले जब उनलाई 'रेकक्रसको हेनरी ड्युनाजस्तै शिक्षामा जोन उड छन्' भन्छन्, तब उनको अनुहार हेर्न लायक हुन्छ । उनलाई नेपालका मानिस खुब मनपरे । 'नेपालका मानिससँग खुसी हुने गजबको क्षमता छ,' उनी भन्छन् । तर, भिसामा छाप लगाउन पूरै ४५ मिनेट लगाउने एयरपोर्ट प्रशासन उनलाई पटक्कै मनपरेन । 'यत्रो समय एयरपोर्टमै लागेपछि विदेशबाट आउनेले यो देशका बारेमा के सोच्ला ?' उनले प्रश्न गरे । अब मौन रहने पालो मेरो थियो । किनभने, म यो प्रश्नको उत्तर खल्तीमा हालेर हिँडेको थिइनँ ।
(नयाँ पत्रिकाबाट)
No comments:
Post a Comment