Google

Tuesday, July 29, 2008

टाउको छुट्ट्याइएकी गंगाको मृत्यु

जन्मिंदै टाउको जोडिएका कारण सिंगारपुरमा जटिल शल्यक्रिया गरी छुट्ट्याइएका जुम्ल्याहा दिदीबहिनी गंगा र जमुनामध्ये मंगलबार काठमाडौंमा गंगाको मृत्यु भएको छ। निमोनियाबाट ग्रसित गंगालाई उपचारका लागि सोमबार कान्तिबाल अस्पतालमा लगिएको थियो। त्यहाँ भेन्टिलेटर अभाव भएका कारण उनलाई बागबजारस्थित मोडेल अस्पताल पठाइएको थियो। मोडेल अस्पतालका अनुसार सोमबार बिहान ७:३० बजेदेखि भेन्टिलेटरमा राखेर उपचार सुरू गरिएकोमा मंगलबार ११:३० बजे गंगाको मृत्यु भएको हो। उनी आठ वर्षकी थिइन्। गंगालाई तीन दिनदेखि निमोनिया भएको थियो। गंगा र जमुनाको जोडिएका टाउकालाई नेपालका स्नायुरोग विशेषज्ञ डा. वसन्त पन्तको प्रयासमा सिंगापुरको स्नायुरोगसम्बन्धी अस्पतालमा आठ वर्षअघि शल्यक्रिया गरी सफलतापूर्वक छुट्ट्याइएको थियो। उक्त अस्पतालमा ९६ घन्टा लगाएर २० जना चिकित्सकको टोलीले विशेष शल्यक्रिया गरेर टाउको छुट्ट्याएको थियो। त्यतिबेला सिंगापुरमा रहेका नेपालीले तीन लाख ५८ हजार अमेरिकी डलर संकलन गरी शल्यक्रियाका लागि खर्च जुटाएका थिए। उक्त उपचारप्रक्रिया विश्‍वकै आकर्षण एवं चिकित्साविज्ञानकै एक चुनौतीपूर्ण मानिएको थियो। शल्यक्रिया गर्ने चिकित्सक टोलीको नेतृत्व गरेका सिंगापुर जनरल अस्पतालका विशेषज्ञ चिकित्सक किथ गोहले शल्यक्रिया सफल भएपछि दिएको प्रतिक्रियामा जमुनामा भन्दा गंगामा बढी घाउ देखापरेको र जमुनाले गंगाले भन्दा चाँडो खानेकुरा खान थालेको बताएका थिए। चिकित्साविज्ञानको इतिहासमा दुर्लभ र चमत्कारिक घटनाका रूपमा अत्यन्त चासोका साथ हेरिएको उक्त शल्यक्रिया सफल भएपछि विश्‍वका अधिकांश राष्ट्रका आमसञ्चारमाध्यममा प्रमुख समाचार बनेका थिए। गंगाजमुनाको सफल शल्यक्रियाबाट प्रेरित भई टाउको जोडिएका जुम्ल्याहा इरानी युवती लालेह र लाडेन बिजानीको पनि सोही अस्पतालमा डा. गोहकै नेतृत्वमा गरिएको शल्यक्रिया असफल भएको थियो। कानुनका स्नातक ती दुई युवतीको शल्यक्रियालाई विश्‍वकै एक चासोपूर्ण घटनाका रूपमा हेरिएको थियो।

No comments: