Google

Monday, July 14, 2008

बाहुनडाँडादेखि चिहानडाँडासम्म


अमेरिकी युवक जोन उड माइक्रोसफ्ट कम्पनीमा उच्च तहमा जागिर खान्थ्यो । त्यो बिजुलीजस्तो मान्छे वासिङ्टनमा खाना खाएर टोकियोमा चुठ्न पुग्थ्यो । मस्कोमा दाँत माझेर बेइजिङ्मा कुल्ला गर्न पुग्थ्यो । भौतिक सुखसुविधाका लागि ऊ संसारका सबै सुखसयल प्राप्त गर्न सक्षम थियो । यति हुँदा पनि उसको मन असन्तोष र छटपटीले बेचैन थियो । यही असन्तुष्टि र छटपटीका बीच एकदिन उसले जागिर छाड्यो, प्रेमिका छाड्यो र भौतिक सुखसुविधाका सम्पूर्ण स्रोतहरूलाई लात्तीले हानेर नेपालको बाहुनडाँडा भन्ने गरबि गाउँतिर लाग्यो । किंवदन्तीको पात्रजस्तो लाग्ने संसारकै सबभन्दा धनी व्यापारी विल गेट्ससँग कुम जोरेर माइक्रोसफ्ट कम्पनीको अन्तर्राष्‍ट्रिय व्यापारका बारेमा आफ्ना धारिला योजनाहरू प्रस्तुत गर्ने त्यो युवक नेपालका बाहुनडाँडा, कामीडाँडा र सार्कीडाँडाहरूका धुलाम्मे स्कुलका सिँगाने केटाकेटीहरूसँग अङ्कमाल गर्न पुग्यो ।  
जोन उडले लेखेको माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म पुस्तकको यो प्रारम्भिक कथा पढ्नासाथै मेरा मनमा अनेक तरङ्गहरू उठ्न थाले । मलाई लाग्यो, त्यो जोन उड भन्ने सात समुद्रपारिको कुइरे युवक गधा र चौँरीका डँडाल्नामा पुस्तकको थाक राखेर हाम्रो देशको गाउँका केटाकेटीलाई शिक्षित बनाउन उकालोतिर चढ्छ, हामी गधाहरू भने राष्ट्रिय ढुकुटीबाट टन्न दाना खान्छौँ र उन्मत्त हुँदै सिंहदरबार र बालुवाटारका चौरमा एकअर्कालाई जोर लात्तीले हानेर लडाउन प्रयास गर्र्छौं । 
हामी गधाहरू पढाइ सुरु भएको छ महिनासम्म सरकारी पैसाले छाप्ने किताब स्कुलमा पुर्‍याउन सक्तैनौँ, ऊ भने संसारभरिबाट निःशुल्क पुस्तक भेला पारेर नेपालका गाउँगाउँमा पुर्‍याउँछ । हामी गधाहरू कुर्सीमा टाँसिएको टाँसिएकै नर्क जान तयार हुन्छौँ, ऊ भने छँदाखाँदाको पद, पैसा, प्रेमिका, साथीभाइ, नातागोता सबै त्यागेर हाम्रो गाउँका केटाकेटीको शिक्षाका लागि संसारभरि भीख माग्दै हिँड्छ । हामी गधाहरू गरबि र र्सवहारावर्गको नेतृत्व गर्र्छौं भन्दै पजेरो र मर्सिडिजमा बालुवाटार र सिंहदरबारको फेरो मार्र्छौं, ऊ भने दमाईडाँडाका गन्धे केटाकेटीका सिँगान पुछ्दै पहाडहरूको चक्कर मार्छ । ऊ अशिक्षा, गरिबी, भोक र रोगको चिहानमा फँसेका बालबालिकालाई जगाउन खोज्छ, हामी गधाहरू ती सप्पैलाई घिसारेर सिङ्गै देशलाई चिहानघारीमा पुर्‍याउन चाहन्छौँ । हामी गधाहरू देशलाई पुर्न सिंहदरबार वा बालुवाटार वा बल्खु वा सानेपा वा मधेस वा पहाडमा चिहान खन्छौँ र सिङ्गै वा टुक्र्याएर भए पनि देशलाई पुर्न चाहन्छौँ । देशलाई चिहानघारी बनाएर राज्य गर्न चाहन्छौँ । हामी चिहानघारीका राजाहरूका लागि बाहुनडाँडाजस्ता डाँडाकाँडाका झुत्रे र भोका केटाकेटीहरू चुनावी घोषणापत्रका लाभदायक पात्रहरू मात्रै हुन् ।  
वास्तवमा हामी हुँदाहुँदै सात समुद्रपारिको कुइरे आएर हाम्रो बाहुनडाँडामा पुस्तकालय खोल्नुमा पक्कै पनि विदेशी षड्यन्त्र हुनुपर्छ । हामी अग्रगामी गधाहरूका विचारमा त्यो जोन उड भन्नेलाई नेपाल आउन दिनुहुँदैन । किनभने, उसले बाहुनडाँडाबाट काम थालेको छ र पुस्तकको नाममा पनि बाहुनडाँडा छ । समावेशी लोकतन्त्रमा 'बाहुनडाँडा' भन्ने नाम प्रतिगामी हो । हामी सबै मिलेर त्यो कुइरेले बाहुनडाँडामा ल्याएर छाडेको शिक्षाको बत्तीलाई चिहानडाँडामा पुर्‍याएर निभाइदिनुपर्छ र नयाँ एवम् मौलिक एउटा पुस्तक लेख्‍नुपर्छ, बाहुनडाँडादेखि चिहानडाँडासम्म ।
लक्ष्मण गाम्नागे
(नेपालबाट)

No comments: