Friday, August 1, 2008

विद्युत (अ)प्राधिकरण महात्म्य

प्राकृतिक सम्पदाहरुमध्ये अति अपार रुपमा रहेको जलसम्पदा हाम्रो देशको आर्थिक विकासको एउटा महत्वपूर्ण माध्यम बन्न गइरहेको छ भन्ने अनुमान त हालैका दिनमा जलविद्युत क्षेत्रमा देखिएका लगानीका संकेत र सम्भावनाहरुबाट गर्न सकिन्छ । तर हामी सर्वसाधारण नेपाली जनताका लागि यी कुरा "आकाशको फल आँखा तरी मर" मात्र भइरहेका छ । चार पाँच घण्टा लामो लोडसेडिङ्गको मारबाट अस्थायी रुपमा त मुक्ति पाएका छौं तर पनि हप्तामा दुई पटक दुई दुई घण्टा अध्याँरो साँझ छामछाम छुमगर्दै विताउनु पर्ने वाध्यता जलश्रोतको दोश्रो ठूलो देशका हामी नेपालीका लागि विडम्वना मात्र नभएर दैनिकी नै भइसकेको छ । यो मध्य वर्षामा पनि हप्तामा चार घण्टा लोडसेडिङ्ग गर्नु पर्ने वाध्यताका विषयमा सम्वन्धित अधिकारीहरुले दिने स्पष्टीकरण र वहानावाजी एकातिर छँदैछ, तर त्यसले देशको सिंगो अर्थतन्त्र र र्सवसाधारणको जीवनयापनमा पारिरहेको नकारात्मक प्रभावको चिन्ता र चासो चाहिँ यो देशको कुनचाहिँ पदाधिकारीले गरिरहेको छ ? 
यसै सन्दर्भमा विद्युत प्राधिकरण, दमक शाखाका प्रमुख ज्यूलाई एउटा खुल्ला पत्र लेख्न बाध्य भएको छु । आशा छ, हाकिम साहेवले पढ्नु हुनेछ र पढेर समस्या समाधानका निमित्त उचित पहल गर्नु हुनेछ । 

श्रीमान् हाकिम साहेव, 
नेपाल विद्युत (अ)प्राधिकरण, दमक शाखा । 

एकातिर लोडसेडिङ्गको रुपमा जानकारी दिएर लाइन काट्ने काम त नियमित छँदैछ, अर्कातिर अनियमित र अनियन्त्रित रुपमा क्षण क्षणमा लाइन काट्ने गर्नाले उद्योगी व्यवसायीलाई परेको मारको क्षतिपूर्ति कसले गर्ने ? ल यति त सहिएकै थियो अझ हाल आएर न्यून भोल्टेजले दिन सम्म दुःख दिएको छ । साँझमा त भोल्टेज पुगेन रे लौ । दिउँसो त पूरा हुनु पर्ने होइन र हाकिम साहेव ज्यू ? तपाईले यो कुरा थाहा पाइन चाहिँ भन्न पाउनु हुन्न है । किनभने मैले नै तपाईलाई फोन गरेर पहिले नै जानकारी दिइसकेको छु । अनि तपाईका मातहतका कर्मचारीहरुलाई त दिनहुँ जसो नै जानकारी गराइरहेको छु । अति नै भइसकेको छ, तपाईहरुको वाध्यता या लापरवाही के हो यो हामीलाई थाहा हुने कुरा भएन तर लो-भोल्टेजले हामी बेलडाँगी बसस्टेण्ड, दमक-१० र ११ का उद्योगी, व्यवसायी र र्सवसाधारणलाई अति हैरान पारेको छ । मैले तपाईको मातहतको एकजना कर्मचारीसँग कुरा गर्दा हामीले यहाँबाट मर्मत गर्दा हुनेसम्म भए यहीँबाट गर्र्छौं, भएन भने अर्को ट्रान्सर्फमर राख्नु पर्ने हुन्छ, त्यसको लागि तपाईहरु ज-जसलाई मार परेको हो आएर हाकिम साहेवलाई जानकारी गराउनु होला भन्नुहुन्थ्यो । अव भनेको बेला सवै जनालाई फुर्सद नहुन पनि सक्छ त्यसकारण मैले यो लोकप्रिय पत्रिका पूर्वसन्देशको सहारा लिएको छु । अन्यथा नलिनु होला । बरु सकेसम्म हामी जस्ता धेरै पैसा तिरेर धेरै दुःख पाउने सेवाग्राही जनतालाई तपाइहरुको कारणबाट भएको हैरानी घटाउने काम गरिदिनु भए आभारी हुने थिएँ । 
धन्यवाद ।
उही
तपाईहरु जस्ता नालायक कर्मचारीहरुका कारणले दुःख पाउनु परेका करोडौं नेपाली जनताहरु मध्ये एक बबुरो म
(यो लेख स्थानीय पत्रिकामा भोलि छापिन सक्नेछ ।)  




No comments:

Post a Comment