Google

Sunday, June 29, 2008

पग्लेको नाक जमेको गला

अचम्म पो हुँदो रहेछ कहिलेकाँही । हिजोदेखि हल्का रुघा लागेको आज त मेरो बोलीको भोल्युम नै सानो भयो । मलाई रुघा त प्रायसः लागि नै रहन्छ, कमसे कम पनि तीन महिनामा एकपल्ट । तर यस्तो त कहिले पनि भएको थिएन । मलाई थाहा भएसम्म मेरो गला बसेको थिएन । रुघा लागि सकेपछि कम्तीमा पनि एकहप्तासम्म त छोड्दै छोड्दैन तर पनि यस्तो नराम्रोसँग स्वर भासिने त कहिल्यै पनि भएको थिएन । निहुँ पनि खास केही होइन, एक ग्लास जति चिसो पानी पिएको थिएँ फ्रिजमा राखेको । त्यसको भोलिपल्ट नै रुघाले समाइहाल्यो । रुघा लागे पनि स्वर त ठिकै थियो तर आज दिउँसो तीन बजेतिरदेखि त बोलि नै भासिइ हाल्यो । त्यो पनि क्या अचम्म तरिकाले भने विग्रेको रेडियो जस्तो वोल्दावोल्दै एकछिनमा सानो हुन्छ, एकछिनमा ठूलो । सधैँको भन्दा वेग्लै तरिकाको रुघा लाग्यो यसपाली । पहिले पहिले रुघा लाग्दा नाक मात्र पग्लिने हुन्थ्यो  तर यसपाली त वोली नै पो जमिदियो, नाक पग्लिने क्रम त छँदैछ ।  

मलाई हिजो नै एकजना दाइले एक्टीफिट भन्ने एउटा ट्यावलेट खानु एकै छिनमा ठिक हुन्छ भन्दै थिए । तर मैले धेर जान्ने भएर उल्टै एउटा उखान सुनाइ दिएको थिएँ - "तपाईलाई थाहै रहेनछ, रुखा लाग्दा औषधि खायो भने निको हुन सात दिन लाग्छ, खाएन भने एकै हप्तामा निको हुन्छ" भनेर । तर के गर्नु मेरो गफले मलाई नै घात गर्‍यो यसपाली । 

शुरु शुरुमा त रमाइलो लाग्दै थियो । अहिले त दिक्क लाग्न थाल्यो । अव चाहिँ औषधि नखाइ नहोला जस्तो छ । मान्छेले जिस्काउन थालिसके के के भनेर । 

No comments: