– अग्निशिखा
Sunday, April 27, 2008
हवार्ड फास्ट : जसको अठार वर्षको उमेरमा कथा छापियो
कति दुःखद् हुँदो रहेछ– आफ्नो प्रिय लेखकको मृत्युको समेत जानकारी नपाउनु। त्यो लेखक– जो यस धरतीबाट बिदा भएको छ वर्ष बित्न लागेछ। अमेरिकी राष्ट्रपतिको कुकुर हराएको समाचार वाक्क लाग्दो गरी सुन्न पाइन्छ, पढ्न पाइन्छ। आँखा बिझ्ने गरी हिरोइन र मोडेलहरूका वक्षस्थलले अखबारका पाना भरिन्छन्, तर मानवताको पक्षमा आफ्नो कलम समर्पण गर्ने विश्वविख्यात लेखकको निधनको समाचार एक कोलममा पनि कतै देखा परेन। मेरो कलमको आस्था–पुरुष ती महान् लेखक हुन्– हवार्ड फास्ट। जसको विश्वविख्यात ऐतिहासिक उपन्यास स्पार्टाकस को हिन्दी अनुवाद अमृत रायले गरेका थिए। शीर्षक थियो– आदिविद्रोही। गुलसन नन्दा जस्ताको पकेट बुक्स पढ्ने बानी लागेको मलाई यो उपन्यास पढ्न कर्मचारी साथी बैकुण्ठ खोटेजाले दिएका थिए। यो २०३० सालतिरको कुरा हो र त्यतिखेर म महान्यायाधिवक्ताको कार्यालयमा काम गर्थें। यो उपन्यास पढेपछि मानिसले मानिसमाथि गरेका अत्याचार र उत्पीडनको पराकाष्ठाले मेरो मन हुँडलेको थियो, विद्रोही चेत जन्माएको थियो। यो उपन्यासको सन्दर्भमा हवार्ड फास्टले लेखेका थिए– यो बहादुर पुरुष र महिलाहरूको कहानी हो, जो धेरैपहिले रहेका थिए र जसको नाम मानिसहरूले कहिल्यै बिर्सेनन्। यो कहानीको नायक स्वतन्त्रतालाई, मानिसको स्वाभिमानलाई अन्य सबै कुराभन्दा बढी प्यार गर्थे र उनले आफ्नो जिन्दगी जसरी बाँच्नुपर्थ्यो, त्यसरी नै राम्रोसँग बाँचे–हिम्मतका साथ, ठाँटबाँटका साथ। मैले यो कहानी यसकारण लेखें कि यसलाई जसले पढे पनि हाम्रो आफ्नो उद्विग्न भविष्यका लागि यसबाट शक्ति प्राप्त गरुन् र अन्याय तथा अत्याचारको विरुद्ध लडून्। ताकि स्पार्टाकसको सपना हाम्रो समयमा वास्तविक होस्। र, हवार्ड फास्टको लेखनबारे स्पार्टाकस का अनुवादक अमृत रायले लेखेका छन्– भूकम्पको, विद्रोहको कहानी हवार्ड फास्टले बताएका छन्। उनको लागि इतिहास न्यायका लागि संघर्षको गाथा हो। र, जहाँकहीँ न्यायका लागि संघर्ष हुन्छ, रगत बग्छ, त्यहाँ लेखक उभिन्छन्– जुनसुकै देश होस्, जुनसुकै समय होस्। ... आदि विद्रोही मा उनी इसाभन्दा ७३ वर्ष पूर्वको रोमको कहानी बताउँछन्, जब दासताको प्रथा चरम थियो र दासहरूमध्येकै एक जनाले त्यस पासविक प्रथालाई चुनौती दिने विवेक र साहस आफूमा जुटाएको थियो। र, त्यस दास विद्रोहको नायक अर्थात् आदि विद्रोही थिए– स्पार्टाकस। आदि विद्रोही मा स्पार्टाकस भन्छन्– के तिमीहरू एउटा घोडा मर्दैमा रुन चाहन्छौ? हामी मानिसको जिन्दगीका लागि लड्छौं, जनावरको जिन्दगीका लागि होइन। रोमनहरू घोडालाई माया गर्छन्, तर मानिसहरूप्रति भने उनीहरूको हृदयमा घृणा मात्र छ। ...रोमनहरूसँग हामी चार वर्षसम्म लडेका छौं– लामो चार वर्ष। हामीले रोमन सेनासामु कहिल्यै पिठ्युँ फर्काएनौं। हामी कहिल्यै भागेनौं। आज पनि हामी मैदानबाट भाग्ने छैनौं।... म पैदल, आफ्ना भाइसाथीहरूको छेउमा खडा भएर लड्नेछु। अन्ततः विद्रोहका नायक स्पार्टाकसलाई रोमन सेनाले क्रसमा जिउँदै टाँगेको थियो, कालान्तरमा क्राइस्टलाई टाँगेझैं। यस उपन्यासको अन्त्यमा हवार्ड फास्ट लेख्छन्– (स्पार्टाकसको विद्रोहको) कथा लोककथामा बन्यो, लोककथाले प्रतीकको रूप लियो, तर उत्पीडकहरूविरुद्ध उत्पीडितहरूको युद्ध लगातार चलिरह्यो। त्यो यस्तो ज्वाला थियो, जो कहिले बढी जल्थ्यो, कहिले मधुरो हुन्थ्यो, तर कहिल्यै निभेन। र, स्पार्टाकसको नाम मरेन। ... जबसम्म मान्छे परिश्रम गर्छ र केही थोरै मान्छे उसको परिश्रम खोस्छन्, तबसम्म मानिसहरूले स्पार्टाकसको नामलाई सम्झनेछन्– हो, कहिले विस्तारै, खासखुस गरेर र कहिले ठूलो स्वरका साथ, स्पष्ट रूपमा, ताकि सबैजनाले त्यस स्पार्टाकसको नाम सुन्न सकून्, जो दास थियो र जसले विद्रोह गरेको थियो। को बिर्सन सक्छ आदि विद्रोह मा वर्णित ग्लेडिएटरको चरम पाशविक मुठभेड? जसमा दासहरूलाई हतियारसहित एक–अर्काविरुद्ध भिड्न बाध्य पारिन्थ्यो। त्यस जोडी मुठभेडमा कमसेकम एकजना मारिनै पर्थ्यो। दासहरू रोमन शासक र भारदारहरूका लागि सायद मानिस थिएनन्, पशु थिए। उनीहरूको जीवनको कुनै मूल्य थिएन र सायद उनीहरूको जन्म शाषकहरूको यस्तो खुनी मनोरञ्जनकै लागि भएको थियो। जब मुठभेडको दौरान ग्लेडिएटरहरूको रगत बगिरहेको हुन्थ्यो– भारदारहरू सुन्दरीहरूलाई अंगालो मारेर रक्सीको चुस्की लिँदै ज्यानमारा खेलको मजा लिन्थे। जब ग्लेडिएटर मारिन्थ्यो, उनीहरू आल्हादित हुँदै ताली बजाउँथे। वाह रे रोमन सभ्यता। यस्तै यस्तै अमानवीय सभ्यताको मुखुण्डो उघार्ने लेखक थिए हवार्ड फास्ट। जसले आफ्नो जीवनकालमा हवार्ड फास्टको नाममा चालीसभन्दा बढी र इ।भी. कनिङ्गघामको नाममा २० वटा उपन्यास लेखेका थिए। उनले युगोस्लाभ नेता जोसिप ब्रज टिटोको जीवनीसमेत लेखेका थिए। र, आत्मजीवनी वेइङ्ग रेड १९९० मा प्रकाशित भएको थियो। तथापि, वाल्ट हिटम्यान र मार्क ट्वेनजस्ता लेखकको बराबरी हैसियतमा रहेका हवार्ड फास्टलाई अमेरिकी प्रशासनले सताएको थियो, संसद् र अदालतमा उभ्याएको थियो, जेलमा कोचेको थियो, कृतिमाथि प्रतिबन्ध लगाएको थियो र उनका कृति नछाप्न दबाब दिनका लागि गुप्तचरहरू प्रकाशकका कार्यालयहरूमा धाएका थिए। वाह रे, पाखण्डी अमेरिकाको वैचारिक स्वतन्त्रता। हवार्ड फास्टको जन्म नोभेम्बर ११, १९१४ मा न्युयोर्कको अत्यन्त गरिब यहुदी परिवारमा भएको थियो। उनकी आमा इदा मिलरको हवार्ड आठ वर्षको हुँदा नै निधन भएको थियो। उनका बाबु बार्ने मजदुर थिए। उनका पाँच सन्तान थिए। आफ्नो परिवारको गरिबीबारे हवार्ड लेख्छन्– एघार वर्षको उमेरमा पुग्दा मैले काम गर्न थालें। ... मेरा जेठा दाजु र मैले काम नगरे हाम्रो परिवार बाँच्न सक्दैनथ्यो। उनका दाजु जेरोम र उनले अखबार वितरणमा काम गर्न थाले। हवार्डको परिवार झुपडीमा बस्थ्यो। उनको प्रायःजसो समय सडकमा गुच्चा खेलेर बित्थ्यो। चौध वर्षको उमेरमा जब उनले कथा लेख्ने जमर्को गरे, उनका बाबु र दाजुभाइले हवार्डलाई प्रोत्साहित गरे। उनी लेख्छन्– साँझ अबेरसम्म म कथा लेख्थें। मेरा दाजु टाइप गर्थे। बाबु चुपचाप हेरिरहन्थे। उनको अनुहारमा सहज खुसी देखिन्थ्यो। त्यो व्यक्ति, जसको सम्पूर्ण जीवन नै आफ्ना दुई हात र दह्रो पिठ्युँ थियो, तर यतिखेर उनको एउटा छोरो थियो, जो साँच्चै कथा लेख्दै थियो। त्यसैले उनी झुपडीको भान्सामा बस्थे र हेरिरहन्थे, मेरा भाइहरूले जस्तै। उनीहरू मलाई यतिबिघ्न माया गर्थे, उनीहरूकै स्नेह र विश्वासका कारण लेखक बन्नु सम्भव भयो। १६ वर्षको उमेरमा हाइस्कुलको अध्ययन पूरा गरेका हवार्डको पढाइ त्यहीँ थान्को लाग्यो। उनले अखबार वितरणलगायत कारखानाको भुइँ सफा गर्ने, कुल्लीको काम गर्ने र रेडिमेड कपडामा मजदुरीको काम गरे। १८ वर्षको उमेरमा उनको पहिलो कथा छापिएको थियो। पारिश्रमिकबापत उनले २५ डलर पाएका थिए। हवार्डको भनाइमा यो पच्चीस डलर खिन्न परिवारलाई एक महिनासम्म खुवाउन पर्याप्त थियो। त्यसै वर्ष उनको पहिलो उपन्यास टु भिलेजेज प्रकाशित भयो। ३० वर्षको उमेर पुग्दानपुग्दै, अमेरिकाको क्रान्तिकारी युद्धका सन्दर्भमा उनका तीन वटा उपन्यास प्रकाशित भए। यिनमा एउटा थियो– सिटिजन टम पेन। पेन अठारौं शताब्दीका क्रान्तिकारी लेखक थिए। यो किताब लाखौं प्रति बिक्री भयो र हवार्डको ख्याति फैलियो। तथापि अमेरिकी प्रशासनका लागि भने यो कृति कम्युनिस्ट प्रोपोगान्डा थियो। न्युयोर्कका स्कुलहरूको पुस्तकालयमा यो किताब राख्न प्रतिबन्ध लगाइयो। ऐतिहासिक उपन्यास लेख्नमा माहिर उनले इतिहासका पात्रहरूलाई सजीव रूपमा हामीसामु उभ्याएका छन्। जस्तो कि अमृत रायले लेखेका छन्– इतिहास हवार्ड फास्टको प्रिय विषय हो– आफ्नो देशको इतिहास, आफ्नो जातिको इतिहास, संसारको इतिहास। र, इतिहास यस अर्थमा होइन, जुन अर्थमा राजारानीको प्रणयकथा इतिहास हुन्छ या लडाईंमा कुनै राजाको हार–जित इतिहास हुन्छ या राजदरबारमा हुने षड्यन्त्र इतिहास हुन्छ। यसको साटो त्यो इतिहास जो कोटीकोटी साधारण जनताको क्रिया–शक्तिमा आफ्नो स्रोत पाउने गर्छ, जसको दृष्टि राजाभन्दा बढी प्रजामाथि पर्छ र जो ती सामाजिक शक्तिहरूलाई बुझ्ने प्रयास गर्छ, जसको अन्तरसंघर्षबाट नै जीवनमा प्रगति हुन्छ। कम्युनिस्ट पार्टीमा मैले महत्त्वाकांक्षा, संकीर्णता र घृणा फेला पारें, मैले त्यहाँ प्रेम र समर्पण, उच्च साहस र इमानदारी पनि फेला पारें। र, मैले चिनेजानेकोमा सबैभन्दा उदात्त हृदयका मानव पनि त्यहाँ फेला पारें। हवार्ड फास्टले आत्मजीवनी बेइङ्ग रेड मा लेखेका छन्। फास्ट, जो १९४३ मा कम्युनिस्ट पार्टीमा संलग्न भएका थिए। जुनबेला उनी कम्युनिस्ट पार्टीमा संलग्न भए, त्यतिखेर उनी सिटिजन टम पेन को लेखनमा जुटेका थिए। १९५७ को न्युयोर्क टाइम्स अखबारमा उल्लेख भएअनुसार गरिबीको जुन वातावरणमा हवार्डले हुर्किनुपरेको थियो, त्यसले नै उनमा कम्युनिज्मप्रति पहिलो रुचि जगाएको थियो। र, कम्युनिस्ट पार्टीमा आबद्ध भएको समयमा जुन कृतिहरू उनले रचे, त्यसले नै उनलाई विश्वविख्यात् बनायो। कम्युनिस्टहरूलाई सखाप पार्ने हिटलरको दुःस्वप्नलाई चुनौती दिँदै जब जर्मन संसद् राइखस्टागमा, दोस्रो विश्वयुद्धको अन्त्यतिर सोभियत झण्डा फहरायो र हिटलरको अन्त्यलाई निम्त्यायो, तब कम्युनिस्ट आन्दोलनप्रति विश्वका करोडौं जनता आकर्षित भए, कैयन विश्व व्यक्तित्वहरूसमेत कम्युनिस्ट आन्दोलनको पक्षमा उभिए। यो उभार अमेरिकाको लागि सह्य थिएन। दोस्रो विश्वयुद्धको समाप्तिसँगै अमेरिकामा कम्युनिस्ट र तिनका समर्थकविरुद्ध दमन अभियान छेडियो। हवार्ड मात्र दमनबाट बच्ने कुरै थिएन। अमेरिकाको संकीर्णता र कपट तब उजागर भयो, जब फासीवादविरुद्ध लडेका योद्धाहरूका लागि फ्रान्समा अस्पताल निर्माणमा सहयोग पुर्या उने व्यक्तिहरूको जानकारी हवार्डसँग मागियो। यो माग संसद्को हाउस अन–अमेरिकन एक्भिटिज कमिटी (हुवाक) ले गरेको थियो। हवार्डले यसबारे जानकारी दिएर कृतघ्न बन्ने कुरालाई अस्वीकार गरे। कानुनी लडाइँ चलिरह्यो। उनीमाथि संसद्को अवज्ञा गरेको अभियोग लगाइएको थियो। यसबाहेक, अमेरिकन कम्युनिस्ट पार्टीका आफ्ना सदस्य कमरेडहरूको नाम बताउने मागसमेत हवार्डसँग गरिएको थियो। यस्तो विश्वासघातका लागि पनि उनी तयार भएनन्। तब उनलाई तीन महिनाको लागि जेल हालियो। उनी प्रशासनको कालो सूचीमा परे। उनका अनुसार जेलको थुनाइले उनलाई अझ रेडिकल बनायो। तल्लो वर्गको वेदना र नैराश्यतालाई उनले पहिलेको भन्दा अझ गहिरोसँग बुझ्न थाले। यही अनुभवको आधारमा उनले स्पार्टाकस को रचना गरे, तर यो उपन्यास छाप्न प्रकाशकहरू प्रशासनको धम्कीका कारण तयार भएनन्। हवार्डले आफ्नै प्रकाशन संस्था स्थापना गरे र आफ्ना किताबहरू छापे। एउटा दिन त्यो पनि आयो जब कम्युनिस्ट पार्टीप्रति उनमा रहेको लगाव टुट्यो। स्टालिनको निधनपछि जब निकिता खु्रश्चेभले स्टालिनको अपराधको भण्डाफोर गरे र जब खु्रश्चेभको सत्ताले हंगेरीको विप्लवलाई दबाउने निर्णय गर्योस, स्टालिन जीवित छँदा नै स्टालिन अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्राप्त गरेका हवार्डलाई सोभियत संघको यी दुई घटनाले नराम्ररी चिमोट्यो। यस सम्बन्धमा उनले भनेका थिए– ख्रुश्चेभले स्टालिनको अपराध नदोहोरिने ग्यारेन्टीसहित आवश्यक सुधारको बाचा आफ्नो भाषणमा गरेनन्। प्रजातन्त्र, समतावाद र सामाजिक न्यायमा विश्वासको कारण नै आफू समर्पित कम्युनिस्ट रहीआएको बताउने हवार्डको मनलाई यस घटनाले नराम्ररी दुखायो। र, यसले आफूमा स्तब्धता र आक्रोश पैदा गरेको भनाइ उनको थियो। त्यतिखेर उनले एक अखबारसँगको कुराकानीमा यसबारे भनेका थिए– १९४६ मा त्यो परिस्थितिमा मैले मुद्दा झेलें र दण्डित भएँ, जुन परिस्थितिले यहाँ (अमेरिका)को पाखण्डी न्यायको खिल्ली उडाएको थियो, तर पनि जब यो भइरहेको थियो, मैले यो विश्वासमा सान्त्वना पाएको थिएँ कि सोभियत संघमा भने मानिसले न्याय पाउँछन्। ममा अब यो विश्वास रहेन। तथापि, आफूले प्राप्त गरेको स्टालिन अन्तर्राष्ट्रिय शान्ति पुरस्कार नत्याग्ने वा फिर्ता नगर्ने स्पष्ट भनाइ उनको थियो। अन्ततः हवार्ड फास्टले अब आफू अमेरिकी कम्युनिस्ट पार्टीबाट अलग भएको र आइन्दा आफूलाई कम्युनिस्ट पनि नठान्ने भनाइ सार्वजनिक गरे, तर पनि उनको भनाइ थियो– म न सोभियत विरोधी हुँ, न त कम्युनिष्ट विरोधी, तर कम्युनिष्ट आन्दोलनमा रहेर काम गर्न र लेख्न म अब सक्दिन। यसरी अमेरिकामा नै जुन लेखकलाई सामान्यतः अग्रणी कम्युनिस्ट लेखकको रूपमा लिइन्थ्यो, त्यही लेखक आइन्दा कम्युनिस्टको रूपमा नरहने दुःखद स्थिति निम्तियो। कम्युनिस्ट आन्दोलनबाट अलग भएपछि उनकै शब्दमा कैयन महिनासम्म आफ्नो भविष्यको प्रश्नमा उनले आफैंसँग लड्नुपर्यो । कम्युनिस्ट पार्टीका सदस्यहरूप्रति आफूमा शान्तिका लागि समर्पित योद्धाहरूको रूपमा प्रशंसाभाव रहेको कुरा ठोकुवाका साथ उनले बताएका थिए, तर व्यक्तिगत रूपमा अब आफू कम्युनिस्ट अनुशासन मानेर रहन नसक्ने महसुस आफूमा भएको उनको भनाइ थियो। जब स्पार्टाकस को फिल्म बन्ने भयो, तब प्रशासनको कालोसूचीबाट उनको नाम हटेको भनिए पनि कम्युनिस्ट आन्दोलनबाट अलग हुनुले नै प्रशासनको रवैयामा परिवर्तन आएको जोसुकैले ठम्याउन सक्छ। तत्पश्चात् हवार्ड हलिउडमा गए र कैयन फिल्मको पटकथा लेखे। त्यसपछि पनि उनका उपन्यासहरू प्रकाशित भए। स्मरणीय छ, उनका किताबहरू बयासी भाषामा अनुवाद भएका छन् र करोडौं प्रति बिक्री भएका छन्। र, उनको निधन १२ मार्च, २००३ मा भएको थियो। कम्युनिस्ट आन्दोलनबाट अलग भए पनि, कम्युनिस्ट नरहे पनि हवार्ड फास्टका कृतिले विश्वमा निःसन्देह रूपमा लाखौं कम्युनिस्टहरूलाई जन्माएको छ। ती हवार्ड फास्ट– जसले आफू कम्युनिस्ट हुँदाका बखत लेखिएका कृतिहरूलाई दुत्कार्ने धृष्टता गरेनन्। यसको साटो उनले घोषणा गरेका थिए– मैले जे काम गरें, त्यसप्रति म लज्जित छैन। युद्धविरुद्ध, नेग्रो जातिमाथिको उत्पीडनविरुद्ध र सामाजिक अन्यायविरुद्ध म लडें। आफ्ना कृतिहरूमाथि मलाई गौरव छ। स्पार्टाकस अब केबल एउटा प्रेत हो र भोलि यो प्रेत पनि हावासँगै उड्नेछ। आजको छ वर्षपछि कसैले उसको नामसमेत याद गर्ने छैनन्। कोही किन याद गरुन्? के दास युद्धको कुनै इतिहास हुन्छ? स्पार्टाकसले निर्माण गरेन, उसले ध्वंस मात्र गर्यो्। र, संसार उनीहरूको मात्र सम्झना गर्छ जो निर्माण गर्छन् – आदिविद्रोही अर्थात् स्पार्टाकस उपन्यासमा, शक्ति र सम्पन्नताको प्रतीक एक रोमन स्पार्टाकसकी पे्रमिका वारिनियालाई भन्दछ। र, स्पार्टाकसको सम्बन्धमा बारिनियाको जवाफ हुन्छ– उसले आशाको निर्माण गर्यो । पञ्चायतकालमा हवार्ड फास्टका यस्ता कृतिहरूले हाम्रो ह्दयमा पनि आशाको निर्माण गरेको थियो।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment